
काठमाडाैं । पुँजीगत लाभकर गणनामा उत्पन्न विवाद समाधान भएको छ । यो सहमति सँगै पुँजी बजारमा उत्पन्न गाँठो फुकेको छ । अर्थ मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले सहमति कायम गरेको हो ।
२०५८ देखि २०७६ असार मसान्तसम्मको सेयर कारोबारको औसत मूल्य निकाली यसैलाई आधार मूल्य कायम गर्ने सहमति भएको हो । यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो ।
अर्थ मन्त्रालय पनि नियामक निकाय र लगानीकर्ताहरुबीच भएको सोही सहमतिलाई कार्यान्वयन गर्न तयार भएको हो । राजस्व सचिव लालशंकर घिमिरेले बुधबार सर्वपक्षीय बैठक डाकेका हुन् ।
मंगलबार धितोपत्र बोर्डमा समस्या समाधान गर्न विरोधपत्र दर्ता गराएका थिए । साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, ब्रोकर र लगानीकर्ताहरुबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै यसमा विलम्ब गरिए आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुले बताएका थिए ।
त्यस्तै, लगानीकर्ताहरुले यसअघि पनि पटकपटक अर्थमन्त्रालय, धितोपत्र बोर्ड, सीडीएससी लगायत सरोकारवाला निकायमा वार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस