काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले शुक्रवार आफ्नो फेसबुक पेज मार्फत बुक क्लोजको मिति सम्बन्धी सुचना सार्वजनिक गर्दै उक्त सुचना आइतवार आर्थिक अभियान राष्ट्रिय दैनिकमा सार्वजनिक गर्ने जानकारी गराएको हो ।
बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । अपिले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हालसम्म विक्री खुलाको मिति तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने तय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।
अपिले चालू आर्थिक वर्षको ६ महिनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महिनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।
प्रतिक्रिया दिनुहोस