aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आगामी १० गतेदेखि ‘फ्लोरा एक्पो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
आगामी १० गतेदेखि ‘फ्लोरा  एक्पो’

काठमाडौं । महामारीको त्रास कम भएसँगै दुई वर्षपछि यही चैत १० गतेदेखि १३ गतेसम्म २३औँ ‘फ्लोरा एक्पो–२०७८’ को आयोजना हुने भएको छ । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवद्र्धनका लागि गरिँदै आएको एक्पो कोरोना महामारीका कारण विगतका दुई वर्षदेखि हुन सकेको थिएन । 

मेलामा जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहने छन्  भने जहाँ मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, कृषि औजार उपकरण, थोपा सिँचाइ प्रविधि र आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन रहने  फ्लोरि कलचर एसोसिएसन नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

मेलामा ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा रु ७५ लाखसम्मको आर्थिक कारोबार हुने आयोजक संस्थाले अपेक्षा गरेको छ । हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि ९ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको संस्थाका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । 

महामारीकै कारण यसक्षेत्रका व्यवसायी अन्य पेसामा पलायन हुँदा गतवर्ष रु ३८ करोडको फूल आयात गर्नुपरेको थियो भने रु ४२ लाखको मात्रै निर्यात गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस