काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते मंगलवार (आज) देखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्दै छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी २८ लाख ७५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत २२ गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत ११ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने सम्भावना छ । यो आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा ३१ लाख २५ हजार कित्ता शेयर फागुन २ गतेदेखि १० गतेसम्म विक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरिसकेको छ । आईपीओमार्फत जुट्ने पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न उपयोग गर्ने बताएको छ । यस कम्पनीको अधिकृत पूँजी ५ अर्ब छ । जारी पूँजी भने ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । तत्काल चुक्तापूँजी २ अर्ब ५० करोड कम्पनीका संस्थापक शेयरधनीहरूबाट र ३१ करोड २५ लाख रुपैयाँ स्थानीयबाट पनि चुक्ता भइसकेको छ । त्यस्तै बाँकी ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीमा संस्थापक शेयरधनीको ८० प्रतिशत, स्थानीय सर्वसाधारणको १० प्रतिशत र सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा १० प्रतिशत कायम हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ शुन्य १ पैसा छ । उक्त विवरणअनुसार प्रतिशेयर नेट्वर्थ ९३ रुपैयाँ ८७ पैसा छ । सो अवधिमा कम्पनीको सञ्चित नाफा ५ करोड २ लाख रुपैयाँ छ । कम्पनीको प्रक्षेपित तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म प्रतिशेयर आम्दानी १० रुपैयाँ २७ पैसा हुने छ भने प्रतिशेयर नेट्वर्थ १२१ रुपैयाँ ६३ पैसा हुनेछ । यो अवधिसम्ममा सञ्चित नाफा ३२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।
यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ ।
पहिलो शेयर कारोबारका लागि कति पाउला मूल्यरेञ्ज?
कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात कायम भएको पूँजी बराबरको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउँनेछ । कम्पनीको स्थानियको शेयर बाँडफाँट भएको मितिले तीन वर्षमसम्म विक्री हुने छैन् बाँकी शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य हुनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्यरेञ्ज तोक्ने व्यवस्था छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । यस आधारमा नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ९१ दशमलव ८६ देखि अधिकतम रू. २७५ दशमलव ९८ सम्मको मूल्यरेञ्ज पाउनेछ ।
प्रतिक्रिया दिनुहोस