
काठमाडौं । लामो समयदेखि किसानले मल पाएका छैनन् । यस वर्षका लागि मल आयात गर्नका लागि टेण्डर गरिएका सप्लायर्सले पनि समयमा मल उपलब्ध गराउन सकेका छैनन् । यो वर्ष टेन्डर गरेको कुनै पनि सप्लायर्सले मल दिन नसकेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
उनी भन्छन्, ‘किसानलाई मल उपलब्ध गराउन सकिएको छैन । साल्ट ट्रेडिङसँग पनि मल छैन । यो वर्ष टेन्डर गरेको कुनै पनि सप्लायर्सले मल दिन सकेको छैन । २५ हजार मेट्रिक टन मात्र युरिया मल आएको छ । यस्तो अवस्थाका कारण अप्ठ्यारो अवस्था छ ।’
अहिले अन्तराष्ट्रिय बजारमा मलको भाउ बढेका कारण पनि सप्लायर्सहरुले मल दिन नसकेको उनले सुनाए । राजभण्डारीले भने, ‘अन्तराष्ट्रिय बजारमा पनि मलको मुल्य तीन गुणाले बढेको छ । यस्तो बेलामा पनि सप्लायर्सहरुले २५ हजार मेट्रिक टन मल दिएका छन् । समय अनुकुल नभएका कारण मल आउनलाई समय लागेको हो । ३ महिनाभन्दा पहिले नै आउनु पर्ने मल अझै आउन सकेको छैन । नेपालमा मात्र हैन सबै तिर मल अभाव छ ।’
‘नेपाल सरकारले जिटुजीबाट पनि अन्तराष्ट्रिय बजारमा मुल्य समानता नआउन्जेलसम्म भारतबाट मल ल्याउने प्रक्रियामा लागि रहेको छ । यसरी मल आयो भने किसानलाई केही मात्रामा सहज हुनेछ’, उनले भने ।
कोरोनाको कारणले पनि मलको अभावलाई व्यवस्थापन गर्न नसेकेको उनी बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको कारणले टेन्डर नै नहाल्ने र टेन्डर परेकाले पनि मल दिन नसक्ने अवस्था आएको छ । अहिले नेपाल र भारत मात्र हैन विश्वमा नै मलको अभाव छ ।’
‘२५ हजार डिएपी र ७५ हजार युरिया गरी एक लाख टन मलको लागि ग्लोबल टेन्डर भएको थियो । जसमध्ये २५ हजार मेट्रिक टन डिएबी मल आएको छ । ७५ हजार टेन्डर परेको युरिया मलमा २५ हजार मेट्रिक टन आयो ५० हजार युरिया मल आउन बाँकी छ’, उनले भने ।
अन्तराष्ट्रिय बजारमा पनि मलको मुल्य तीन गुणाले बढेको बताउँदै उनले भने, ‘टेन्डर गरेको मलमा भारतले पनि अन्तराष्ट्रिय बजारबाट आयात गरेर नै दिने हो । त्यहाँ पनि मलको अभाव भइरहेको छ । चीनले आयातमा खुला गर्यो भने केही सजिलो हुने आशा छ ।’
साल्ट ट्रेडिङले आह्वानमा टेण्डर पारेका कम्पनीहरुले पनि मल उपलब्ध गराउने आस्वासन भने दिइरहेपनि मल उपलब्ध हुनेबारे यकिन नभएको उनको भनाई छ । राजभण्डारी भन्छन्, ‘कुन समयमा मल उपलब्ध गराउन सकिन्छ भन्ने यकिन नै छैन । चीनले एक्पोर्ट जबसम्म खोल्दैन संसारको बजार नै उसैले नियन्त्रण गर्छ । मलको मुख्य आयात निर्यात गर्ने देश नै चीन हो । चीनले नखुलाएसम्म यो समयमा मल आउँछ भन्न सक्ने अवस्था छैन ।’
यता कृषि सामग्री केन्द्रका सूचना अधिकारी अशोककुमार खड्काका अनुसार रासायनिक मलका लागि टेन्डर गरिरहेको छ । तर, मलका लागि केन्द्रले नयाँ टेन्डर प्रक्रिया समेत अघि बढाएको उनले दावी गरे । उनी भन्छन्, ‘कोरोनाको कारणले गर्दा १ लाख १३ हजार मेट्रिक टन मल रोकिएको छ । यसको टेन्डरको अवधि सकिसकेको छ । सप्लायर्सहरुले ल्याएका पनि छैनन् । त्यसका लागि हामीले प्रक्रिया अघि बढाएका पनि छैनौ । नयाँ टेन्डरका लागि भने लागिरहेका छौं ।’
५० हजार मेट्रिक टनको डिएपी र ६० हजार मेट्रिक टन युरिया मल उत्तरी नाकाबाट ल्याउने भनिएको थियो तर, चीनको पोलिसीले गर्दा ल्याउन नसकिएको उनले बताए । उनले भने, ‘यसको टेन्डरको म्याद पनि सक्किसकेको छ । २० हजार मेट्रिक टन डिएपी मल विरगन्ज, विराटनगर र भैरहवामा आएर बसेको छ । एक दुई दिनदेखि परिचालन हुनेछ ।’
कोरोना महामारी र अन्तराष्ट्रिय बजार भाउ बढेका कारणले मल ल्याउन नसकेको उनी बताउँछन् । खड्का भन्छन्, ‘अहिले अन्तराष्ट्रिय बजार भाउ पनि बढेको छ । कारोनाको कारणले टेन्डरको मल पनि अड्किरहेको छ । जतिसक्दो चाँडो मल उपलब्ध गराउन साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रले फेरि टेन्डर आवहान गरेका छौ ।’
यसका साथै मल आयातका लागि जिटुजीलाई पनि प्रक्रिया अघि बढाएको उनले सुनाए । उनले भने, ‘३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मलका लागि मार्च ८ मा टेन्डर निकालेका छौ । २२ हजार मेट्रिक टन युरिया मलका लागि साल्ट ट्रेडिङले पनि टेन्डर निकालेको छ । यो टेन्डर पर्यो भने डिएपी मल चै चाँडै आउन सक्छ तर युरिया मलका लागि भने केही समय लाग्ला जिटुजीलाई पनि प्रक्रिया अघि बढाएका छौ ।’
भैरहवा र विरगन्जमा आएको २० हजार मेट्रिक टन मल वितरणका लागि भने मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिए । उनले भने, ‘अहिले २० हजार मेट्रिक टन मल भैरहवा र विरगन्जमा आएको छ । कोटा सिस्टम भएका कारण कुन नगरपालिका र जिल्लालाई कति दिने भनेर प्राविधिक छलफल पछि गरेर पठाउनुपर्ने हुन्छ । साढे सात हजार मेट्रिक टन मल केही दिन भित्र नेपाल आइ पुग्छ । युरियाको हकमा भने टेन्डर गरेका छौ ।’
‘यस अघि र अहिले गरेको टेन्डरको मल आयो भने कृषकले सजिलै मल पाउँछन् । सप्लायर्सहरुले पनि उत्तरी नाकाबाट ५ सय टन मल ल्याउदै छौ भनेका छन् । लामो समयदेखि मल नआएर मारमा परेका किसानलाई केही राहत मिल्ला’, उनले भने ।
प्रतिक्रिया दिनुहोस