aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् । मन्त्री भुसालले आफूले मन्त्रालय संहालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिएको बताइन् ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नु परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।” उनले मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताइन् । 

त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताइन् । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराइन् । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस