
काठमाडौं । रासायनिक मलको समस्या एकदेखि दुई महिनाभित्र समाधान हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रासायनिक मलको समस्या समाधान हुने बताएका हुन ।
हाल साल्ट ट्रेडिङ र कृषि सामाग्री केन्द्रले टेण्डर मार्फत आयात गरिको २५ मेट्रिक टन गोदाममा रहेको र २० हजार मेट्रिक टन आउने क्रममा रहेको उनले बताए । त्यस्तै तत्कालै ५० हजार मेट्रिक टन मलका लागि टेण्डर आवहान गर्ने तयारीमा रहेको उनले बताए ।
नेपाल र भारतबीच भएको मल खरिदसम्बन्धी सम्झौताको सुनिश्चित भएको मन्त्री यादवले बताए । उनले भने, ‘१ महिनाभित्र डेढ लाख मेट्रिक टनसम्मको रासायनिक मल ल्याउनका लागि भारत सरकारसँग सम्झौताको चरणमा रहेको छ । ’
दुई देशबीचको समझदारीपत्रको कार्यान्वयनका लागि केहि महिनाभित्रै मल खरिदको मूल्य सहितका विषयमा सहमति जुटाउनका लागि संयुक्त स्टेरिङ कमिटिले काम गर्दै गरेको उनले बताए । नेपालमा मल कारखाना सञ्चालन गर्नका लागि भने धेरै महगो पर्ने उनले बताए । नेपाल लगानी बोर्ड मार्फत फाइल अगाडि बढिरहेको समेत उनले बताए । नेपालमा मलखाद कारखाना सञ्चालनका लागि १ खर्ब जति लगानी लाग्ने प्रारम्भिक अनुमान रहेको उनले बताए ।
उनले भने, ‘रासायनिक मल कारखाना सञ्चालनका लागि धेरै विद्युत पनि आवश्यक पर्ने हुन्छ । त्यसका लागि नेपालमा विद्युत भएपनि यसको खपतका लागि बजार भने छैन । नेपालमा बार्षिक १२ लाख मेट्रिक टन मल आवश्यक पर्छ तर कारखाना नै सञ्चालन गरेपछि यो भन्दा धेरै मल उृत्पादन हुने भएकाले नेपालमा यसको खपत हुने देखिदैन ।’
प्रतिक्रिया दिनुहोस