काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेसँगै बीमा नेपाल लाइफ इन्स्योरेन्सबाहेक अरू बीमा कम्पनीहरूले अनिवार्य पुँजीवृद्धि गर्नु पर्ने भएको छ । जीवन बीमा कम्पनीको हकमा चुक्तापुँजी ५ अर्ब रुपैयाँ तोकिएको छ । हाल नेपाल लाइफ इन्स्योरेसको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ छ ।
यो निर्णयसँगै आईपीओ निष्कासन नगरेको राष्ट्रिय बीमा संस्थानले आफ्नो हालको चुक्तापूँजीमा २ हजार ६६२ प्रतिशतले पूँजीवृद्धि गर्नु पर्ने भएको छ । यो कम्पनीको हालको चुक्तापूँजी १८ करोड १० लाख २० हजार छ भने कम्पनीले २०७९ चैतसम्म ५ अर्ब चुक्तापुँजी पु¥याउँनु पर्नेछ ।
आईपीओ निष्कासन गर्न बाँकी अन्य ५ वटा कम्पनीले पनि आफ्नो पुँजी २५७ प्रतिशतसम्म वृद्धि गर्नु पर्नेछ । आईपीओ निष्कासन गर्न राष्ट्रिय बीमा संस्थानसहित सिटिजन्स लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये राष्ट्रिय बीमा संस्थाले हालको चुक्तापूँजीको आधारमा २ हजार ६६२ दशमलव १३ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने छ ।
त्यसैगरी सिटिजन्स लाइफले १८५ प्रतिशत पुँजीवृद्धि गर्नुपर्ने छ । यो कम्पनीको हाल चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बाँकी सन नेपाल, रिलायवल नेपाल, अइएमई र महालक्ष्मी लाइफ इन्स्योरेन्सले २५७ प्र्रतिशत पूँजीवृद्धि गर्नु पर्नेछ । यी कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
हाल १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । यीमध्ये मेट लाइफ विदेशी कम्पनीको शाखा हो । विदेशी कम्पनीको हकमा समितिले पहिले जीवन बीमा कम्पनीलाई तोकेको चुक्तापुँजी जति नै निर्धारित पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस