
काठमाडौं । पछिल्लो समय लघु जीवन बीमा गराउनेहरूको संख्या बढ्दै गएको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को सात महिनामा लघु जीवन बीमा गराउँने बढ्दै गएका छन् । पछिल्लो सात महिनामा जीवन बीमा कम्पनीहरूले २१ लाख ५३ हजार ५२८ बीमा लेख विक्रीबाट ७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समितिका अनुसार यो बीमाशुल्क कम्पनीहरूले जारी गरेको सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामार्फत संकलन भएको हो ।
समितिले जीवन लघु बीमाका यी तीनओटै स्किमको अधिकतम बीमाङ्क ३ लाख रुपैयाँ सीमा तोकेको छ ।
चालू आवको सात महिनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन म्यादी लघु जीवन बीमामार्फत संकलन भएको छ । यो शीर्षकमा ३ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो । त्यसपछि अन्य लघु जीवन बीमामर्फत ३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
माघसम्ममा लघु जीवन बीमा प्रथम बीमाशुल्कवापत ४ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै यस्ता बीमालेख नवीकरणमार्फत सात महिनाको अवधिमा २ करोड २९ लाख ९६ हजार रुपैयाँ संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस