
काठमाडौं । बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न गत विहिबार निर्देशन दिएको हो ।
समितिले एक महिनाको समय दिएर बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको योजना सहितको विवरण कम्पनीहरुको बोर्डबाट निर्णय गराई समितिमा पेस गर्न भनेको छ । यो निर्देशन आगामी २०७९ चैत्र मसान्तभित्र कार्यान्वयन गर्न पनि समितिले भनेको छ । यदि सो समयावधिभित्र पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले ‘गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने बीमा समितिको निर्देशन छ ।
समितिको यो निर्देशन पुरा गर्न जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई सकस हुने देखिन्छ । जीवन बीमा कम्पनीहरुमध्ये समितिले कायम गर्नु भनेको चुक्तापूँजी नेपाल लाइफले अहिले नै पुर्याएको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।
बीमा समितिले तोकेको चुक्तापूँजीको नजिक नेशनल लाइफ इन्स्योरेन्स पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ । अन्य धेरै कम्पनीहरुले भने समितिले तोकेको चुक्तापूँजी पुर्याउन दोब्बरसम्म थप गर्नुपर्ने देखिन्छ ।
बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धिले समग्रमा नेपालको बीमा क्षेत्रलाई राम्रो हुने बीमा विज्ञ तथा नेपाल रि–इन्स्योरेन्सका अध्यक्ष डा. रविन्द्र घिमिरे बताउँछन् । उनी भन्छन्, ‘बीमाको दायरा कम भइरहेको बेलामा चुक्तापूँजी वृद्धिको योजनाले बीमा कम्पनीहरुलाई व्यवसाय वृद्धि गर्न दबाब पर्छ । व्यवसाय वृद्धिसंगसंगै नेपालमा बीमा को दायरा पनि फराकिलो हुँदै जान्छ ।’
उनका अनुसार बीमा कम्पनीहरुको चुक्तापूँजी बलियो हुँदा कम्पनीहरुको रिटेन्सन क्षमता पनि बढ्छ । पूँजी वृद्धिले बीमा कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताको प्रतिफल भने कम हुँदै जान्छ । तर, बीमालेख धारण गर्ने ग्राहकहरुलाई भने यसले फाइदा पुर्याउँछ ।
डा. घिमिरे भन्छन्, ‘संख्याको आधारमा हेर्ने हो भने हाम्रो जस्तो सानो मुलुकमा बीमा कम्पनीहरु धेरै हुन् । यदि बीमा समितिले पूँजी वृद्धिको योजनासंगै बीमा कम्पनीहरुको संख्या पनि घटाउने योजना ल्याएको हो भने बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुलाई एकैठाउँमा राखेर छलफल चलाउनु पर्छ ।’
बीमा कम्पनीहरुको पूँजीवृद्धिको लागि फोर्स मर्जरमा जानु उचित नहुने बताउँदै उनले अगाडी भने, ‘समितिले यदि बीमा कम्पनीहरुलाई मर्ज गर्न चाहेको हो भने लगानीकर्ता र सञ्चालकहरुलाई बोलाएर तपाईंहरु मर्जरमा जानुहोस्, साना साना पसल खोलेर काम छैन भन्नु पर्यो । होइन भने फोर्ज मर्जरमा लगियो भने कार्यान्वयन गराउन गाह्रो हुन्छ । राजीखुशी गरिएको मर्जर कार्यान्वयन गराउन सहज हुन्छ ।’
त्यस्तै, बीमा समितिले गरेको चुक्तापूँजी वृद्धिको निर्णय चुनौतिपूर्ण रहेको जीवन बीमक संघका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले बताए । उनले भने, ‘बीमा समितिले गरेको चुक्तापूँजी वृद्धिको निर्णय एकदमै चुनौतीपूर्ण रहेको छ । एक वर्षभित्र नै कार्यान्वयन गर्नु पर्ने भनिएको छ । यसलाई कसरी अप्रोज गर्ने भनरे वर्कआउट गर्ने तयारीमा छौं ।’
उनका अनुसार धेरै बीमा कम्पनीहरुको अहिले पुर्याउन निर्देशन दिएकोमा आधाभन्दा कम चुक्तापूँजी रहेको छ । यस्तो अवस्थामा एक वर्ष भित्रमै डबलभन्दा बढी पुर्याउनु पर्ने बाध्यता छ । चुक्तापूँजी बृद्धिबारे बीमा कम्पनीहरुको आ–आफ्नो धारणा हुनसक्ने बताउँदै श्रेष्ठले भने, ‘कुनै कम्पनीहरुको चुक्तापुँजी अहिले तोकेको भन्दा बढी रहेको छ । कुनैको केहि कम छ । त्यतिमात्र होइन कतिको त दोब्बरले बढाउनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुले छुट्टाछुटटै धारणा राख्न सक्छन् ।’
त्यसैगरि,बीमा समितिले दिएको पूँजीवृद्धिको निर्देशन अनुसार बीमा कम्पनीहरुले बोनस वितरणबाट चुक्तापूँजी बढाउन सक्ने अवस्था नभएका नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्की कुँवर क्षेत्री बताउँछन् ।
उनी भन्छन्, ‘नेपालमा बीमाको बजार नै सानो छ । जसले गर्दा बीमा कम्पनीहरुले अहिलेकै अवस्थाको बजारबाट बोनस शेयर वितरण गरेर पूँजीवृद्धिको योजना भेट्याउन असम्भव छ ।’ बीमा समितिले जारी गरेको निर्देशन अनुसार चुक्त्तापूँजी पुर्याउने केहि उपायहरुमध्ये हकप्रद शेयर र मर्ज हुनसक्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस