
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले अपि पावरले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४६६ दशमलव ९० को आधारमा नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. ३६३ दशमलव २७ तोकेको हो ।
अपिले उक्त हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
अपिले चैत २५ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्दैछ । अपिले प्रतिशेयर रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा उक्त कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद पश्चात अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । यो हकप्रद शेयर वैशाख १५ गतेसम्म विक्रीमा रहनेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस