
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ पहिलो दिन ४ लाख ३३ हजार ४७१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवार साँझ ५ बजेसम्म यी आवेदकहरुले रू. ५२ करोड २२ लाख ४८ हजार बराबारको ५२ लाख २२ हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३ दशमलव १३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले बुधवारदेखि प्रतिशेयर रू. १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् चैत २१ गतेसम्म मात्र विक्रीमा रहनेछ । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस