aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

“पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
“पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन”

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

उनले भने, “बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।” आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सवभन्दा अगाडि हुने उल्लेख गर्दै  अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकून् र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन र त्सस अनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको बताए । 

“प्रत्येक वर्ष बीमाको कारोवार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बीमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्, सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्” अध्यक्ष सिलवालले भने, “बीमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्यो, बीमा कम्पनीले पनि बीमा दाबी भुक्तानी र बीमा सर्भेयरको फी ढिलाई नगरी भुक्तानी गर्नु प¥यो, पशु मर्योे, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बीमा रकम पाउनु पर्यो, कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्यो ।”  

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताए । कार्यकारी निर्देशक पौडेलले बीमा सर्भेयरले क्षति मूल्याकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्दै बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस