aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमालयन हाइड्रो एक्स्पो सुरु, विजुली विदेशमा विक्री गर्न लागेकोमा राष्ट्रपति खुशी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ चैत्र २०७८
हिमालयन हाइड्रो एक्स्पो सुरु, विजुली विदेशमा विक्री गर्न लागेकोमा राष्ट्रपति खुशी

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको अवस्थामा उर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छिन । यद्यपी उर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई थियो । 

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गरेकी थिइन । समृद्ध नेपाल र सुखी नेपालीको सङकल्प पुरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिएकी थिइन । 

देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताइन । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न आग्रह गरिन । 

सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरेकी थिइन । जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनी जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो । 

एक्स्पोलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले करहमेसा पहलकदमी लिइरहेको बताए । उर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको भन्दै मन्त्री यादवले उर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै बिस्तार भएर जानु पर्नेमा जोड दिएका थिए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले उर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको बताए । नीति नियम तथा उच्च तहका व्यक्तिहरुको बोलाईभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न ध्यानाकर्षण गराए ।
 
नेपाल उद्योग परिसङका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यवहारिक पाटे कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको एक्स्पोले उर्जा विकासमा अवसरको खाजी गर्ने अपेक्षा गरिएको छ । इपान अध्यक्ष कृष्ण प्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै उर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । 

उर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उपान अध्यक्ष आचार्यले उर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र उर्जा उत्पादन भएको बताउनु भयो । २०४७ सालको परिवर्तन पछि निजी क्षेत्रले १ हजार ५०० मेगावाट विद्युत उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत खरिद बिक्री सम्झौता हुन नसक्दा प्रवद्र्धकहरु हतोत्साहित बनेको आचार्यको भनाई थियो । आगामी ५ वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले निती नियमका माध्यमबाट सहजीकरण हुनेमा आशावादी रहेको आचार्यले बताए ।
 
नेपाल भारत उर्जा व्यापारमा सक्रिय रुपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इडियन इण्डिष्ट्रिजका डा. भुपेन्द्र कुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्ने जानकारी एक्स्पोमा दिइएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारी साधनको चाबी अनविल गरेका थिए । 

तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सोको महत्वपुर्ण पाटोका रुपमा विद्युतीय सवारी सधनको ¥याली आयोजना गरिएको छ । एक्स्पोस्थल भृकुटीमण्डपबाट सुरु भएको ¥याली नेपालको पहिलो तथा एशियाको दोस्रो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजनाबाट भृकुटीमण्डप आएस समापन भएको थियो । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारलाई दवाब दिने उद्धेश्यले आयोजना गरिएको ¥यालीमा उल्लेख्य संख्यामा विद्युतीय सवारी साधनको उपस्थिती थियो । 

फर्पिङ जलविद्युत आयोजनामा ¥यालीका सहभागीलाई स्वागत गर्दै पर्यटनमन्त्री प्रेमबहादृर आलेले उर्जाको आन्तरिक खपतका विषयमा एक्स्पो आयोजकले देखाएको चासो महत्वपुर्ण भएको बताए । एशियाको दोस्रो जलविद्युत आयोजानास्थल फर्पिङलाई जलविद्युतका क्षेत्रमा अनुसन्धान केन्द्र बनाउन तथा पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्न पहल गर्ने बताउँदै मन्त्री आलेले योजना पेश गर्न इपानलाई आग्रह गरेका थिए ।

 मन्त्री आललेले आगामी आर्थिक वर्षको बजेटमा नै सो काम समेट्नका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने भन्दै योजना र बिस्तृत प्रस्ताव पेश गर्न आग्रह गरे  ।

प्रतिक्रिया दिनुहोस