
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतवार बिहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालय बानेश्वर, काठमाडौंमा भएको बाँडफााटमा २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन ।
विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरिदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ । योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकहरुमध्यबाट पनि १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ ।
कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा शेयर बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा शेयर विक्री गरेको हो । यस अघि कम्पनीले स्थानियमा फागुन २ गतेदेखि २० गतेसम्म ३१ लाख २५ हजार कित्ता शेयर विक्री खुला गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर फागुन २९ गते बाँडफाँट गरिसकेको छ । हाल कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ताभएको हो । सर्वसाधारणमा सामूहिकलगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुगेको छ ।
यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७÷७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ ।
दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउँला मूल्य रेञ्ज ?
आईपीओ बाँडफाँटपश्चात कम्पनीले सम्पूर्ण कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउँनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुनै पनि नयाँ कम्पनी सूचीकृत पश्चात् पहिलो कारोबारका लागि उक्त कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने व्यवस्था छ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ९१ दशमलव ८६ देखि रू. २७५ दशमलव ५८ सम्मको मूल्यरेञ्ज पाउँनेछ ।
प्रतिक्रिया दिनुहोस