
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को फागुनमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सञ्चलित १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनीले एक महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
पछिल्लो समय बीमा कम्पनीहरूले नयाँ–नयाँ बीमा पोलेसी विक्री गर्न थालेसँगै बीमा शुल्क आर्जन पनि बढ्न थालेको हो । गत माघमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । फगुनमा भने यी बीमा कम्पनीहरूले कुल बीमा शुल्क आर्जन बढाउँन सफल भएका छन् । माघको तुलनामा फागुनमा यी बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब २६ करोड रुपैयाँले बढी हो ।
त्यस्तै फागुनमा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने पहिलो नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
माघमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने पहिलो नम्बरमा रहेको शिखर इन्स्योरेन्स फागुनमा भने दोस्रोमा सीमित हुन पुगेको छ । राष्ट्रिय बीमा कम्पनीले फागुनमा मात्र ५५ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्य आर्जन गरेको छ । तर, यो कम्पनीले माघमा भने १४ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
फागुनमा शिखर इन्स्योरेन्सले ३३ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने माघमा यो कम्पनीले ३२ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफले भने आफ्नो अग्रतालाई कायमै राखेको छ । यो कम्पनीले फागुनमा २ अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । फागुनमा दुई अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफ मात्र हो । जीवन बीमा कम्पनीहरूमध्ये १६ वटाले भने १ अर्बभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् । १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफसहित लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।
फागुनमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स छ भने निर्जीवन बीमा कम्पनीतर्फ नेशनल इन्स्योरेन्स रहेको छ । फागुनमा महाक्ष्मीले ११ करोड ३६ लाख र नेशलन इन्स्योरेन्सले ४ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस