aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार संचालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार संचालक निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर तथा प्रति शेयर ०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सरोकारवाला  सबैमा बधाई एवं शुभकामना व्यक्त गरे ।

कार्यक्रममा  कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी दिए  । 

सभाबाट आर्थिक वर्ष.२०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट  निर्विरोध निर्वाचित भएका चार जना संचालकहरुको नाम घोषणा गरेकोे छ । सो अनुसार निर्विरोध निर्वाचित संस्थापक संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् ।

साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको  छ ।

प्रतिक्रिया दिनुहोस