
काठमाडौं । जीवन बीमा कम्पनीहरूले माघको तुलनामा फागुनमा कुल बीमा शुल्कबाट आर्जन हुने आम्दानी बढाएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघको तुलनामा फागुनमा १९ जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन रू. ५१ करोड ३० लाख वृद्धि भएको छ ।
बीमा समितिका अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलेसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो । फागुनमा मात्रै १९ जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क माघको तुलनामा ४ दशमलव ९४ प्रतिशत बढी हो । माघमा मात्र यी बीमा कम्पनीहरूले कुल रू. १० अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफले रू. २ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले कुल रू. २ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी फागुनमा बढी बीमा शुल्क आर्जन गर्ने दोस्रोमा सिटीजन्स लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले माघकोभन्दा फागुनमा रू. १२ करोड ८२ लाख बढी बीमा शुल्क आर्जन गरेको छ । त्यसपछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले माघकोभन्दा फागुनमा रू. १० करोड ६४ लाख बढी बीमा शुल्क आर्जन गरेको छ ।
फागुनमा १९ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुनमा मात्रै कुल रू. ७५ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेको छ । माघमा कम्पनीले रू. ६९ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै सात वटा कम्पनीको बीमा शुल्क आर्जनमा भने कमी आएको छ । माघको तुलनामा फागुनमा बीमा शुल्क आर्जनमा सबैभन्दा बढी कमी आउने राष्ट्रिय बीमा संस्थान रहेको छ । यो कम्पनीले माघमा रू. २५ करोड ६६ लाख बीमा शुल्क आर्जन गरेकोमा फागुनमा रू. ७ करोड २१ लाख घटेर रू. ३२ करोड ८८ लाखमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस