aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपकार लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
उपकार लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते (आज) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।


सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । यसबाहेक बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने सम्भावना देखिन्छ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटपछि यो पूँजी रू. ६ करोड ५६ लाख २५ हजार पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । 

सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि रू. ४०३ दशमलव ९१ देखि रू. १ हजार २११ दशमलव ७३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस