aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामको खोजीमा १५ सयभन्दा बढी विदेशी कामदार नेपालमा

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, २७ चैत्र २०७८
कामको खोजीमा १५ सयभन्दा बढी विदेशी कामदार नेपालमा

काठमाडौं । नेपालमा रोजगारी नपाएको भन्दै दैनिक हजारौ नेपाली विदेशीने गरेका छन् । चालु आर्थिक वर्षको सात महिनाको तथ्याङक हेर्ने हो भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाखभन्दा माथि छ । 

तर, नेपालमा काम गर्नका लागि उल्लेख्य मात्रामा विदेशी कामदारहरु आएका उदाहरणहरु पनि प्रशस्तै छन् । नेपाली नागरिकले नै गर्ने सक्ने कामका लागि पनि विदेशी कामदारहरु प्रयोग भइरहेका छन् । 

विकास निर्माणका कामदेखि उर्जा परियोजना र उद्योगहरुमा विदेश कामदारहरु धेरै आउने गरेका छन् । श्रम विभागको तथ्याङक अनुसार नेपालमा काम गर्नका लागि १७ हजारभन्दा बढि विदेशी नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । आर्थिक वर्ष २०६९/७० देखि आव २०७८/७९ सम्म १७ हजार ७२९ विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् । 

विदेशबाट नेपालमा काम गर्न आउने कामदारहरुको अभिलेख राख्ने र श्रम स्वीकृति दिने काम श्रम विभागले गर्दै आएको छ । यस विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा १ हजार ५६५ जना विदेशी नागरिकले श्रम विभागबाट श्रम स्वीकृति लिएका छन् । जसमा ७६० जना महिला र ७१६ जान पुरुष रहेका छन् । सो अवधिमा ८०५ जनाले श्रम इजाजत नविकरण गरेका छन् । श्रम इजाजत नविकरण गर्नेमा १०१ जना महिला र ७०४ जना पुरुष रहेका छन् । 

यस अवधिमा ६५ देशका विदेशी नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएको देखिन्छ । गत आर्थिक वर्षमा भने ६६ देशका नागरिकले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति नलिई काम गर्ने कामदारहरु धेरैजसो भारतीय नागरिक रहेका छन् । नेपालमा विदेशी कामदारहरुको संख्या धेरै भएपनि श्रम स्वीकृति लिएर काम गर्नेहरु भने कम रहेको विभागको भनाई छ । 

विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने विदेशी नागरिकको संख्या घटेको छ । गत वर्ष ६६ देशका २०५९ नागरिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा उक्त संख्या घटेर १५६५ पुगेको हो । हालसम्मको तथ्याङक हेर्दा श्रम स्वीकृति लिने  विदेशी नागरिकहरुमध्ये सबैभन्दा चीनका रहेका छन् । गत आवमा १४८४ जना चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका थिए भने यस वर्ष १११६ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, चालु आवमा श्रम स्वीकृति लिनेमा बेलायती नागरिक ६२ जना, भारतीय नागरिक ३९ जना, अमेरिकन नागरिक ३९ जना, आयरल्याण्डका ३९ जना, जापनीज ३१ जना र श्रीलङकाका नागरिक २० जना रहेको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार आव वर्ष २०६९/७० मा ९८४ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् । जसमा ७४ जना महिला र ९१० जना पुरुषले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, आव २०७०/७१ मा ७१९ जनाले श्रम स्वीकृति लिएकोमा २९ जना महिला र ७९० जना पुरुष रहेका छन् । आव ०७१÷७२ मा श्रम स्वीकृति लिएका २ हजार २३ जनामा २३६ जना महिला र १७८७ जना पुरुष रहेका छन् । 

त्यसैगरी आव ०७२÷७३ मा १ हजार ४७२ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा १४५ जना महिला रहेका छन् भने १ हजार ३२७ जना पुरुष रहेका छन् । आव ०७३÷७४ मा श्रम स्वीकृति लिएका १ हजार ९७२ जनामा १५९ जना र १ हजार १६५ जना पुरुष रहेका छन् । यस अवधिमा ६४८ जनाले श्रम इजाजत नविकरण गरेको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार आव ०७४÷७५ मा २ हजार ५७० जनाले विदेशी नागरिकले श्रम स्वीकृति लिएका थिए । जसमा ३८५ जना महिला र २ हजार १८५ जना पुरुष रहेका छन् । सो अवधिमा ९६२ जना विदेशी नागरिकले श्रम इजाजत नविकरण गरेका छन् । 

त्यस्तै, आव ०७५÷७६ मा श्रम स्वीकृति लिएका १ हजार ९८१ जनामा २७४ महिला र १ हजार ७०७ पुरुष रहेका छन् । यस अवधिमा ८६२ जनाले श्रम इजाजत नविकरण गरेको विभागको तथ्याङकमा उल्लेख छ । आव ०७६÷७७ मा २ हजार ५० जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका थिए । जसमा ३२४ जना महिला र १ हजार ७५४ जना पुरुष रहेका छन् । यस अवधिमा श्रम इजाजत नविकरण गर्नेको संख्या ९५९ रहेको छ । 

त्यसैगरी आव २०७७÷७८ मा २ हजार ३९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा २६३ जना महिला र २ हजार १३० जना पुरुष रहेका छन् । यस अवधिमा श्रम इजाजत नविकरण गर्नेको संख्या १३०३ जना रहेको तथ्याङकमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस