aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमाल दोलखा हाइड्रोले २५ प्रतिशतसम्म लाभांश दिने दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
हिमाल दोलखा हाइड्रोले २५ प्रतिशतसम्म लाभांश दिने दाबी

काठमाडौं ।  हिमाल दोलखा हाइड्रोले वि. स. २०८० बाट आफ्ना लगानीकर्तालाई २०–२५ प्रतिशतसम्म लाभांश दिने दाबी गरेको छ । शुक्रबार कम्पनीले आयोजना गरेको  पत्रकार सम्मेलनमा कम्पनीका चिफ फाइनान्स म्यानेजर अनन्त कार्कीले सो दाबी गरेका हुन् ।   त्यस्तै हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर साउन २४ गतेसम्म  खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

आगामी आवदेखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको  कम्पनीको भनाइ छ । कम्पनीमा प्रतिशेयर रु. १०० का दरले भुक्तानी गर्नुपर्ने यस शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।  सर्वसाधारणमा बिक्री गरिएको आईपीओबाट बैंकको ऋण चुक्ता गरिने कम्पनीले जनाएको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीले माई खो ला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) दुवै आयोजनाहरु क्रमशः मिति २०६७/११/०१ गते तथा मिति २०७४/१२/२६ गतेदेखि ब्यापारीक उत्पादन शुरु भैसकेको जनाएको छ ।

उक्त कम्पनीले केबीएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रतिमेगावाट लागत १० करोड रुपैयाँ आयोजना निर्माण गरिहेकाले सोबाट प्रतिमेगावाट ४.३५ करोड रुपैयाँ आम्दानी हुने भएकाले कम्पनीका लगानीकर्तालाई लाभांश दिन सक्ने कम्पनीको भनाइ छ । म्यानेजर कार्कीका अनुसार सुख्खा मौसममा पनि यस आयोजनाले कुल क्षमतामा ८५ प्रतिशतभन्दा बढी उत्पादन गर्ने भएकाले यसको अप्रेसन लागत न्यून रहेको छ । कम्पनीले वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी गर्ने र वार्षिक लागत ९९ करोड रुपैयाँमात्रै हुने भएकाले यसले लगानीकर्तालाई उच्च प्रतिफल दिने कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस