
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले चैत ८ गते स्वीकृति दिएको हो ।
हालसम्म हकप्रद शेयर निष्कासनको मिति तय नगरेको कम्पनीले आधारभूत शेयरधनीहरुलाई भने अग्रिम रुपमा रकम जम्मा गर्न भनेको हो । धितोपत्र बाँडफाँट निर्देशिका, २०७४ को व्यवस्था बमोजिम संचालिक लगाएत आधारभुत शेयरधनीहरुसँगै चुक्तापूँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर धारणगर्ने शेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर वापत्को रकम शेयर सार्वजनिक निष्काशन हुनुपूर्वनै बुझाउनु पर्ने हुन्छ । सोही व्यवस्था बमोजिम सम्बन्धीत शेयरधनीहरुले आगामी १५ दिनभित्र रकम जम्मा गर्न कम्पनीले अनुरोध गरेको हो । यो हकप्रद शेयर विक्रीको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ ।
कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७÷६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन् । नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस