aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपकार लघुवित्तको आईपीओमा ८४ गुणा बढी आवेदन, मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
उपकार लघुवित्तको आईपीओमा ८४ गुणा बढी आवेदन, मंगलवार अन्तिम दिन

काठमाडौं । चैत २५ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि ८४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार चैत २८ गते बिहान १० बजेर १० मिनेटसम्ममा १६ लाख २९ हजार ७६९ जना आवेदकहरुले १ करोड ८६ लाख ५४ हजार २६० कित्ताका लागि आवेदन दिएका हुन । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको हो । कम्पनीको शेयर २२ हजार ११५ जनाले मात्र प्राप्त गर्नेछन् । ६ जना भाग्यमानी लगानीकर्ताहरुले बढीमा ११ कित्तासम्म कम्पनीको शेयर पाउनेछन् । 

कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सार्वजनिक निष्कासनमा आएको बाहेक कम्पनीले शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । 

मागभन्दा बढी आवेदन परिसकेको यो आईपीओ चैत २९ गते मंगलवारसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात यो पूँजी रू. ६ करोड ५६ लाख २५ हजार पुग्नेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि रू. ४०३ दशमलव ९१ देखि रू. १ हजार २११ दशमलव ७३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस