
काठमाडौं । चैत २५ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरी चैत ३० गतेसम्म कायम गरिएको हो । कम्पनीको आईपीओ खरिदका लागि सोमवार साझसम्म करिब ९४ गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेपनि यस कम्पनीको आईपीओ खरीदका लागिे एक दिन अवधि थप गरिएको हो ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको हो । कम्पनीको शेयर २२ हजार ११५ जनाले मात्र प्राप्त गर्नेछन् । ६ जना भाग्यमानी लगानीकर्ताहरुले बढीमा ११ कित्तासम्म कम्पनीको शेयर पाउनेछन् । कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सार्वजनिक निष्कासनमा आएको बाहेक कम्पनीले शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ ।
मागभन्दा बढी आवेदन परिसकेको यो आईपीओ चैत २९ गते मंगलवारसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात यो पूँजी रू. ६ करोड ५६ लाख २५ हजार पुग्नेछ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि रू. ४०३ दशमलव ९१ देखि रू. १ हजार २११ दशमलव ७३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस