
काठमाडौं । साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् ।
समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए । पछिल्लो एक वर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ ।
साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले नेपाली कामदार तीन महिनाभित्र फिर्ता भइसक्ने आशा व्यक्त गरे । श्रम कार्यालयका महानिर्देशकसँग कुरा गरेका छौं, कम्पनीलाई तीन महिनाको समय दिएको उनले बताएका छन्,ु राजपुतले कान्तिपुरसँग भने ।
त्यस कम्पनीमा कार्यरत नेपालीले मात्रै झन्डै १० करोड रुपैयाँ तलब पाउन बाँकी छ । कम्पनीले धेरै तलब बाँकी रहेका नेपालीलाई पठाएको छैन । त्यहाँ मासिक एक हजारदेखि तीन हजार रियालसम्म तलब पाउने नेपाली छन् ।
कम्पनीले नोभेम्बरसम्मको मात्रै तलब भुक्तानी गरेको छ । फेब्रुअरीदेखि काम दिएको छैन । छाडेर जाने कामदारलाई प्राथमिकतामा राखेर स्वदेश पठाइरहेको छ । गएको एक वर्षमा मात्रै ९ हजार नेपाली स्वदेश फर्किसकेको बताइएको छ । कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस