काठमाडौं । कालीकोट जिल्लामा निर्माण हुन लागेको बहुउपयोगी फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा कालीकोटका ४ स्थानीय तह प्रभावित हुने भएका छन् । विद्युत उत्पादन कम्पनीले तयार पारेको वातावरणीय प्रतिवेदन अनुसार जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकामा आयोजना निर्माणको प्रभाव पर्ने भएको हो ।
अध्ययत प्रतिवेदनले यी क्षेत्रमा प्रभाव पर्ने देखाएपछि आयोजना निर्माण कम्पनीले उक्त क्षेत्रमा के–कस्तो असर पर्छ भनेर उक्त क्षेत्रका स्थानीय विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाल व्यक्ति वा संघ संस्थासँग सुझाव मागेको छ ।
उक्त क्षेत्रमा पर्ने भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीबीच पर्ने प्रभावमा स्थानीय सम्बन्धित सरोकारवालाले आयोजना निर्माण गर्ने कम्पनीमा सुझाव दिनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा ड्याम बनाएर सुरुङमार्फत भौरेकुनामा पुर्याउने गरी उक्त अर्धजलायको निर्माण गर्न लागिएको हो । प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ मा रहनेछ ने बाँ तर्फको भाग खाँडाचक्र नगरपालिको वडा नम्बर ११ मा रहने बताईएको छ । उक्त बाँध सन्नीगाड खोला र कर्णली नदीको संगमबाट करिब १.५ किलोमिटर तल्लो क्षेत्रमा अवस्थित हुने बताइएको छ । मुख्य बाँधको उचाइ जगदेखि १६० मिटर तथा नदीको पिँधको स्तरबाट १०९ मिटर हुने पनि बताइएको छ ।
यो आयोजना निर्माणका लागि १ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । ४ सय ८० मेगावाट क्षमताको आयोजनाको मुख्य हेड (ग्रस हेड) १६८.६२ मिटर हुने बताइएको छ । आयोजनाका लागि ८.४ मिटर व्यास साथै ५८३१.६६ मिटर र ५५९७.२ मिटर लम्बाईका २ वटा मुख्य (हेडरेस) सुरुङ निर्माण गरिनेछ । विदुतको अधिकतम माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस