aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो दिन साढे ३ लाखभन्दा बढीले भरे सिवाईसी नेपाल लघुवित्तको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
पहिलो दिन साढे ३ लाखभन्दा बढीले भरे सिवाईसी नेपाल लघुवित्तको आईपीओ

काठमाडौं । शुक्रवारदेखि सार्वजनिक ष्निकासनमा आएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि ३ लाख ५३ हजार ५८७ जनाको आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार कार्यालय अवधिसम्म यी आवेदकहरुबाट ४१ लाख १७ हजार ९५० कित्ताको शेयर खरीद माग भएको हो । पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ११ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । कुल कित्ता आईपीओमध्य कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले यो आइपीओ छिटोमा बैशाख ६ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर वितरण गर्न लागेको हो । यस कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।

यस आधारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३४४ दशमलव ३६ देखि रू. १ हजार ३३ सम्ममा हुने देखिन्छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८ करोड २१ लाख ८ हजार २४० रहेको छ । आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. १२ करोड १६ लाख ४१ हजार ८४० पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस