काठमाडौं । विगत केहि हप्तादेखि कुर्था–जयनगर क्षेत्रमा नियमित रेल सञ्चालन भइरहेको छ । यस क्षेत्रमा नियमित रेल सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित देखिएका छन् । लामो समयदेखि घुम्टो ओडाएर राखिएको रेल नियमित गुडेको देख्दा स्थानीय दंग देखिएका हुन् ।
रेल सञ्चालन भएदेखि हालसम्म सधैजसो यात्रुहरु भरिभराउ हुने गरेका छन् । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुग्ने गरेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ हुने गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
महाप्रबन्धक झाका अनुसार रेल दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । कुर्थाबाट जयनगरका लागि बिहान १०ः४५ बजे र साँझ ५ः१५ बजे छुट्छ भने जयनगरबाट कुर्थाका लागि बिहान ८ः३० बजे र दिउँसो ३ः१५ बजे छुट्छ ।
निर्धारित समय तालिका अनुसार नै नियमित रेल चलिरहेको छ । तर, यी समयमा यात्रुहरुको चाप धेरै रहेका कारण समय थप गर्ने तयारीमा रहेको उनले जानकारी दिए । महाप्रबन्धक झाले भने, ‘रेलमा यात्रुको चाप एकदमै धेरै रहेको छ । अहिले हामीले रेल सञ्चालको समय थप गर्ने तयारी थालेका छौं । यसका लागि रेल्वे कम्पनी र रेल सञ्चालन गर्ने टेक्निकल मेनपावरसँग छलफल भइरहेको छ ।’
उनका अनुसार हाल सञ्चालनमा रहेको रेलमा कुल पाँच वटा डिब्बा छन् । तीमध्ये एक वातानुकूलित छ जसमा एक पटकमा ५८ जनासम्म यात्रु अटाउँछन् । यसबाहेक अन्य चार वटा सामान्य डिब्बामा १३ जना यात्रु अटाउँछन् । सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद गर्नुपर्ने हुन्छ भने एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ ।
अहिले यात्रुहरुको चाप हेर्दा उक्त स्थानमा अझै एक थान रेल सञ्चालन हुनुपर्ने देखिएको झाको भनाई छ । उनले भने, ‘रेल चढेर धेरैजसो जयनगर किनमेल गर्न जाने गरेका छन् । सधैजसो यात्रुहरुलाई सिट अपुग हुने गरेको छ । शनिबार त झन धेरै यात्रु हुने गरेका छन् । अझै एक थान रेल यस क्षेत्रमा सञ्चालन गर्नु पर्ने आवश्यकता देखिएको छ ।’ साथै उनले यात्रुको चाप धेरै रहेका कारण सिट व्यवस्थापनमा समस्या हुने गरेको समेत जानकारी दिए ।
नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त रहेको महाप्रवन्धक झाको भनाई छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन् । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनरुवा र जयनगरमा स्टेशन/हल्ट छन् ।
उनका अनुसार नियमितरुपमा रेल चल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा छ । यस क्षेत्रको पर्यटन, धार्मिक क्षेत्रको विकास र नेपाल–भारतबीचको व्यापार व्यवसाय विस्तारमा योगदान पुर्याउने अपेक्षा छ । विश्व सम्पदा सूचीमा रहेको जनकपुरधाममा भारतीय पर्यटक वृद्धिका लागि पनि यस रेल सञ्जालले आवश्यक भूमिका निर्वाह गरेको छ ।
भारतको नयाँ दिल्लीबाट चैत्र १९ गते शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए ।२०७७ साल असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । लामो समयसम्म उक्त रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस