aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘इन्धन खपत घटाउन सबै सरकारी गाडी विद्युतीय बनाउनु पर्छ’

  • रिता राउत
    रिता राउत
  • बुधबार, ०७ बैशाख २०७९
‘इन्धन खपत घटाउन सबै सरकारी गाडी विद्युतीय बनाउनु पर्छ’

काठमाडौं । केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपनि यसको खपत भने घटेको छैन । पेट्रोलियम पदार्थको उच्च आयात र बढ्दो इन्धन खपत घटाउन सरकार केन्द्रित बनिरहेको छ । यसका लागि सरकारले २० प्रतिशत इन्धन सुविधा कटौती समेत कार्यान्वयन गर्ने नीति समेत ल्याउने भएको छ । त्यतिमात्र होइन इन्धन खपत घटाउन दुई सार्वजनिक बिदाको दिनेदेखि विद्युतीय सवारीको प्रयोग बढाउने सम्मको चर्चा चलिरहेको छ ।

बढ्दो इन्धन खपत घटाउन र विद्युत् उत्पादनको खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने विद्युत नियमन आयोग सञ्चालक समितिका पूर्व सदस्य तथा उर्जा विज्ञ डा. रामप्रसाद धिताल बताउँछन् । उनी भन्छन्, ‘नेपाल विद्युतीय सवारी साधनको प्रयोगबाट अनगिन्ती लाभ लिन सकिन्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन सञ्चालन गर्नभन्दा विद्युतबाट चल्ने सवारी साधनमा लाग्ने खर्च कम हुने विभिन्न अध्ययनले देखाएको छ । यससंगै बढ्दो इन्धन खपत घटाउन र विद्युत् उत्पादनको खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै उत्तम देखिन्छ ।’ 

उनका अनुसार नेपालमा पेट्रोलियम पदार्थको आयात बर्सेनि बढ्दो छ । यस्तो अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई पेट्रोलियम पदार्थबाट गुड्ने सवारीको विकल्पका रूपमा अघि बढाउन प्रोत्साहित गर्ने हो भने पेट्रोलियम पदार्थको आयात घटाई देशबाट बाहिरिने ठूलो धनराशिको बचत हुन्छ । 

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगका लागि प्रयास नभएका होइनन् ।  तर, अग्रगामी नीति बनाउन र निर्णय गर्न हतारिने तर कार्यान्वयनको सन्दर्भमा जोखिम मोल्न नसक्ने राज्यको निम्छरो प्रवृत्तिले गर्दा विद्युतीय सवारी साधनको प्रयोग बढाउने दिशामा गणना गर्न योग्य उपलब्धि हुन सकेको छैन । 

उर्जाविद् डा. धिताल भन्छन्, ‘नेपाली अर्थतन्त्रलाई माथी उकास्ने हो भने अबका दिनमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनै पर्छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि राज्यले आमनागरिकलाई विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहित गर्न आवश्यक पूर्वाधारमा पर्याप्त लगानी गर्नु जरुरी देखिन्छ ।’ 

विद्युतिय सवारीको प्रयोग बढाउन सरकारले विभिन्न सुविधा दिनुपर्ने डा. धितालको भनाई छ । उनी भन्छन्, ‘निजी साना गाडीहरुको आयातमा भन्दा ठूला सार्वजनिक सवारी साधनहरुको आयातमा सरकारले सुविधा दिनु पर्छ । निजी र साना कारहरुमा व्यक्तिगत स्तरमा मात्रै पेट्रोलियम पदार्थको खपत कमी गर्ने हुनाले यसमा त्यस्तो धेरै सुविधा दिनु पर्छ भन्ने छैन । तर, सरकारले विद्युतीय ठूला सवारी सञ्चालन गर्न आकर्षित गर्नु पर्छ । यसका लागि सरकारले फाइनान्सियल सपोर्टदेखि विभिन्न कुराहरुमा छुट दिएर प्रोत्साहन गर्नु पर्ने हुन्छ ।’  

उनका अनुसार विद्युतीय सवारी सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चार्जिङ स्टेसन नै हो । नेपाल विद्युत प्राधिकरणले झण्डै ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने भनेको छ । तर, यी ठाउँ पर्याप्त छैनन । 

‘प्राधिकरणले विस्तारै पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेशन बनाउँदै लैजानु पर्छ । प्राधिकरणले पेट्रोल पम्पहरुलाई पेट्रोलको ठाउँमा चार्जिङ स्टेशन राख्नका लागि प्रोत्साहन गर्न आवश्यक छ’, उनले भने, ‘ठूला ठूला महलहरु पनि चार्जिङ स्टेशन राखिदिनु पर्छ । जसले गर्दा उक्त ठाउँमा सपिङ गर्नका लागि लिएर गएका सवारीहरुको चार्ज गर्न सकुन् । सपिङ गर्ने समय अवधिमा उनीहरुको सवारीको चार्ज पनि हुन्छ ।’  

त्यस्तै, सरकारी प्रयोजनका लागि किन्ने गाडीहरु सबै विद्युतीय हुनु पर्ने उनको तर्क छ । डा. धिताल भन्छन्, ‘इन्धन खपत घटाउन हो भने सबै सरकारी गाडी विद्युतिय बनाउनु पर्छ । अब सरकारी प्रयोजनका लागि किन्ने गाडीहरु सबै विद्युतीय खरिद गर्नु पर्छ । सरकारले पेट्रोल र डिजेलबाट चल्ने गाडीहरुको प्रयोग बन्द गरेर विद्युतीय सवारी सञ्चालनमा केन्द्रित हुनु पर्छ । यसो गरेमा पेट्रोलियम पदार्थको खपतमा निकै कम हुने निश्चित छ ।’   

प्रतिक्रिया दिनुहोस