
काठमाडौं । चैत २७ गतेदेखि विक्रीमा रहेको रिभर फल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
यो आईपीओमा माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधि वैशाख ११ गतेसम्म मात्र विक्री गर्न लागिएको जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको छ । यो अवधिसम्म माग बमोजिम आवेदन नपरेको अवस्थामा भने बैशाख २६ गतेसम्म विक्री खुला गर्ने मिति तय भएको थियो ।
आईपीओ खरीदका लागि रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस