aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासन

काठमाडौं । दोर्दी खोला जलविद्युतले वैशाख १३ गते (आज) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासित शेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका साविकको भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । 

आईपीओमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे जेठ ११ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ सम्बन्धी विवरणपत्र सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल र दोर्दी खोला जलविद्युत कम्पनीको अफिस त्रिपुरेशवर, काठमाडौंबाट लिन सकिनेछ । त्यसैगरी सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको सेराबजार शाखा, मुक्तिनाथ विकास बैंकको बेसीशहर शाखा र एनएमबि बैंकको बेसीशहर शाखाबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ । 

यीसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । 
आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहको भन्ने जनाउँछ । 

प्रतिक्रिया दिनुहोस