aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खाद्य कम्पनीले लक्ष्यको आधा पनि खरिद गर्न सकेन धान

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, २० बैशाख २०७९
खाद्य कम्पनीले लक्ष्यको आधा पनि खरिद गर्न सकेन धान

काठमाडौं । बेमौसमी बर्षातले धान खेतीमा क्षति पुर्याएका कारण यस वर्ष लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको खाद्य तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको तीन भागमा एक भाग पनि धान खरिद गर्न सकेन । 

खाद्य तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बेमौसमी वर्षातले पश्चिम क्षेत्रको धानहरु सबै नष्ट भएका कारण लक्ष्य अनुसारको धान खरिद गर्न नसकिएको बताइन् । 

उनले भनिन्, ‘हामीले धान खरिद गर्दा न्युनतम गुणस्तरको किन्नुपर्ने हुन्छ । यो धान तुरुन्त चामल बनाएर बेच्ने नभएर स्टकको लागि पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । फुड बैंकमा पनि जम्मा गर्नुपर्ने हुन्छ । यतिसम्म गुणस्तरको धान किन्ने भनेर तोकिएको हुन्छ । त्यस भित्रको मात्र हामीले किन्न सक्छौ । यो वर्षातले क्षति भएको धानको गुणस्तर पनि राम्रो नभएका कारण लक्ष्य अनुसारको प्रगति हुन नसकेको हो ।’

उनका अनुसार कम्पनीले सुरुमा ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको थियो । बेमौसमी वर्षातका कारण धान नष्ट भएको भन्ने सुनिन थालेपछि लक्ष्य पुरा गर्न सकिदैन भन्दै कम्पनीले २० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य बनाएको थियो । हाल कम्पनीले ९ हजार मेट्रिक टन अर्थात ९० हजार क्विन्टल धान खरिद गरेको छ । 

वर्षातको समयमा सबै जिल्लाहरुमा बाटो बिग्रिने गरेका कारण खाद्यदान ढुवानीमा हरेक वर्ष समस्या हुने गर्छ । दुर्गमका क्षेत्रका मानिसहरु कुहिएको चामल खान बाध्य हुन्छन् । तर खाद्य कम्पनीले खाद्यान्न ढुवानीका लागि सबै व्यवस्थापन भइसकेको जनाएको छ । 

उनले भनिन्, ‘हाम्रो योजना अनुसार नै काम भइरहेको छ । खाद्यान्न मौज्दातका लागि चामल खरिदको काम पनि सुरु गरिसकेका छौ । चामल आउने क्रममा रहेको छ । स्टकको पनि समस्या छैन । सबै पुर्वाधारमा व्यवस्थापन भइसकेको छ । खाद्यान्न ढुवानीमा समस्या हुँदैन ।’

उनका अनुसार हाल खाद्य कम्पनीले सुहुलियत पसलहरु सञ्चालन नगर्ने जनाएको छ । ‘हामीसँग भएको खाद्यान्न सहुलियत मुल्य कै हुन्छ । चाडपर्व लक्षित गरेर नै सहुलियत पसल सञ्चालन गर्ने हो । अहिले ठुलो चाडपर्वहरु पनि आएको छैन दशै लिहारलाई नै लक्षित गरेर  योजना गर्ने हो’, उनले भनिन् । 

बजारमा अहिले खाद्यान्नको मुल्य निरन्तर रुपमा बढीरहेको छ । मुल्य वृद्धि नियन्त्रणमा प्रभावकारी रुपमा अनुगमन हुन सकेको छैन ।  न्यौपाने भन्छिन्, ‘बजारको मूल्य एउटै तहमा होस् भन्ने हो । हाम्रो चामलमा मुल्य वृद्धि भएको छैन । जसले गर्दा बजारमा धेरै मुल्य तलमाथि हुन दिदैन भन्ने हाम्रो अपेक्षा हो । तर अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले आन्तरिक बजारमा थोरै मुल्य तलमाथि हुनु सामान्य कुरा हो ।’ उनका अनुसार हाल खाद्य कम्पनीसँग १५ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ । 

नौ महिनामा ५९ अर्ब २९ करोड भन्दा बढीको खाद्यान्न आयात 
चालु आर्थिक वर्षको नौ महिनामा ५९ अर्ब २९ करोडभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङक अनुसार चालू आवको चैत मसान्तसम्ममा नेपालका प्रमुख खाद्यबाली मानिएका धान, मकै, कोदो जस्ता खाद्यान्न ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

विभागका अनुसार चालू आवको चैत मसान्तसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार रुपैयाँ बराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यस्तै धानको बीउ मात्रै २४ करोड ८३ लाख ६९ हजार रुपैयाँ बराबरको कूल १६ लाख ९९ हजार ७८९ केजी आयात भएको छ ।

त्यसैगरी चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपैयाँ बराबरको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पोलिस चामल आयात भएको छ । यसैगरी पोलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपैयाँ बराबरको र ६ करोड ३ लाख ५८ हजार ४५३ केजी चामल आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ अर्ब रुपैयाँ बढीको मकै आयात भएको देखिन्छ । कूल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ । 

यसैगरी सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत एक अर्ब पाँच करोड ६६ लाख ६० हजार रुपैयाँ रहेको छ । 

नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त रहेको विभागको भनाइ छ । तर कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले दुई करोड ७१ लाख २० हजार रुपैयाँ बराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल आठ लाख पाँच हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ । 

विभागको तथ्याङ्क अनुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै बीउको रुपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य २९ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

जुनेलोसमेत नेपालीले किनेर खान थालेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नौ महिनाका अवधिमा ६५२ केजी जुनेलो आयात भएको छ । जसको लागत ३५ हजार रुपैयाँ रहेको छ । त्यतिमात्रै होइन मकैको स्वाद भएका खाद्य उपजकोसमेत आयात भएको देखिन्छ । त्यस अवधिमा दुई करोड २९ लाख ३८ हजार रुपैयाँ बराबरको पाँच लाख ६० हजार ३६५ केजी त्यस्तो खाद्य पदार्थ आयात भएको छ । 

सरकारको नीति असफल 
सरकारले कृषि उपजको उत्पादन बढाउनका लागि अनेकन नीति तथा कार्यक्रम बनाएको छ । तर लक्षित वर्गसम्म ती कार्यक्रम पुग्न सकेको छैन । गत वर्ष सरकारले केही कृषि उपजमा आत्मनिर्भर भएको घोषणा पनि गर्यो । तर भन्सार विभागको तथ्याङ्कले भने सो दाबीलाई समेत गलत सावित गरिदिएको छ । जमिन बाँझो राखेर विदेशी मुद्रा खर्चेर, धान, चामल, गहुँ र कोदो आयात भइरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । 

मुलुक स्थानीय तहको निर्वाचनको सङ्घारमा आइपुगेको छ । प्रमुख राजनीतिक दलले यो विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने दायित्व अझै बढेर गएको छ । तर हालसम्म सार्वजनिक भएका राजनीतिक दलका घोषणापत्रले खाद्यान्न आयात घटाउने विषयलाई खास अर्थमा प्राथमिकतामा राख्न नसकेको गुनासो पनि उत्तिकै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस