aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिभर फल्सले वैशाख २८ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
रिभर फल्सले वैशाख २८ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो । 

अब कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको कम्पनीको भनाई छ । यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रबृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । 

यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल संस्थापक तर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७÷७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस