aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हावाहुरीबाट केरा बालीमा साढे पाँच करोडको क्षति, बीमा कम्पनीका कारण कृषकलाई सास्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
हावाहुरीबाट केरा बालीमा साढे पाँच करोडको क्षति, बीमा कम्पनीका कारण कृषकलाई सास्ती

काठमाडौं । हावाहुरीका कारण बारा जिल्लाको निजगढ नगरपालिकामा लगाईएको करोडौंको केरा बालीमा क्षति भएको छ । बैशाख १६ गते आएको हाराहुरीका कारण सो क्षेत्रमा लगाईएको केरा बालीमा क्षति भएको हो ।  

निजगढ नगरपालिकामा करिब ७ सय किसानले ८ सय हेक्टरभन्दा माथी क्षेत्रफलमा केरा खेती गरेका थिए । हावाहुरीले उक्त केरा बालीमा क्षति पुर्याउँदा करिब पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको केरा बाली नष्ट भएको छ ।  
 
निजगढ नगरपालिका वडा नं. ९ का कृषक गोविन्दप्रसाद खरेलले हावाहुरीका कारण करोडौंको केरा बालीमा क्षति भएको गुनासो गरे । उनले भने, ‘यहाँका किसानहरुको प्रमुख खेती भनेको नै केरा बाली हो । यहाँका किसानले केरा बाली लगाउने गर्छन् । तर, केहि दिन अघि आएको हाराहुरीले साढे पाँच करोडभन्दा बढीको केरा बालीमा क्षति पुगेको छ ।’ 
    
क्षतिको अनुगनम गर्न बीमा कम्पनीको आनाकानी    
निजगढ नगरपालिकाका कृषकहरुले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा केरा बाली बीमा गरेका छन् । त्यहाँका कृषकहरुले केरा रोपेको १५ दिन भित्र बीमा गराउने गरेका छन् ।  
 
तर, बीमा गरिएको केरा बालीमा क्षति भएको विवरण टिपोट गर्न बीमा कम्पनीका कर्मचारी समयमा नआउने गरेको कृषक खरेलले बताए । ‘बैशाख १६ गते आएको हावाहुरीका कारण केरा बालीमा क्षति भएको छ । उक्त क्षतिको विवरण टोपोट गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको उपशाखा सिमरामा जानकारी गराईएको थियो ।

 तर, हालसम्म टोपोट गर्न आउनु भएको छैन’, उनले भने, ‘टेलिफोन गरेर क्षतिबारे जानकारी गराउनु भनिएको थियो । हामी सबै कृषकले क्षतिको विवरण सबै टिपोट गरि निवेदन लेखेर उपशाखा र केन्द्रिय कार्यालयमा पठाएका छौं ।’

उनले बीमा कम्पनीले क्षति भएको ठाउँमा अनुगमन गर्न आउन आनाकानी गरेका कारण कृषकहरु मार्कामा परेको बताए । ‘बीमा कम्पनीले केरा बाली क्षति भएको ठाउँमा नै आएर अनुगमन गर्दैनन् । क्षतिको विवरण टिोपट गर्दैनन् । क्षति भएको तत्काल समयमा क्षतिबारे टिपोट गर्न नआएका कारण कृषकहरु मार्कामा परेका छन् । यसबारे नगरपालिकामा समेत जानकारी गराएको छौं’, उनले भने । 
 
कृषकहरुले निवेदन मार्फत पठाईएको टिपोटबारे बीमा कम्पनीले लिन नमानेकोबारे नगरपालिकालाई जानकारी समेत गराएका छन् । त्यहाँका कृषकहरुले निजगढ नगरपालिकालाई सयुक्तरुपमा निवेदन लेख्दै भनेका छन्, ‘हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड सिमरा उपशाखा कार्यालयका प्रमुख शंकर पौडेलले सूचनाको सयुक्त टिपोट लिन नमानेको पीडित किसानहरुको गुनासो छ । त्यस्तै, क्षतिको गणना गर्न चुनावपछि मात्र अनुगमन गर्न आउने भनि कृषि शाखा निजगढमा समेत जानकारी गराएकोले कृषकहरु मार्कामा परेको हुँदा आवश्यक व्यवस्था मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ 
   
बीमा कम्पनीका कारण किसानलाई हैरान  
पछिल्लो केही वर्षयता विशेषगरि बारा जिल्लाको निजगढ नगरपालिकाका सयौँ किसानहरूले केरा खेती गर्दै आएका छन् । केरा खेतीको बीमा गरिन थालेपछि किसानहरू केरा खेती तर्फ आकर्षित भएका हुन् ।

तर, क्षति भएका केरा बालीको बीमा दाबी भुक्तानी समयमा नपाउँदा त्यस क्षेत्रमा किसानहरुलाई सास्ती भएको छ । इन्स्योरेन्स कम्पनीले बीमा गरिएका केरा बालीको बीमा दाबी भुक्तानी लामो समयसम्म दिन नमानेका कारण यस क्षेत्रका किसान हैरानीमा परेका हुन् ।  

गत वर्षको बैशाखमा भएको केरा बालीको क्षतिको दाबी भुक्तानी रकम नपाएको भन्दै कृषकहरूले नगरपालिकादेखि बीमा समिति हुँदै कृषि मन्त्रालयसम्म धाइरहेका छन् । तर, अहिलेसम्म भुक्तानी पाएका छैनन् । 
 
लामो समयसम्म भुक्तानी नदिने गरेका कारण बीमा कम्पनीहरुबाट कृषकलाई बाली बीमा गर्न निरुत्साहित गर्न खोजिएको कृषक गोविन्दप्रसाद खरेलको आरोप छ । उनी भन्छन्, ‘हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सिमरा उपशाखाले कृषकहरूलाई बीमा गर्न निरुत्साहित गर्ने कार्य गरिरहेको छ । गत वर्षको बैशाखको हावाहुरीले करोडौँको केरा बालीमा क्षति भयो । त्यसको क्षतिपूर्ति अहिलेसम्म पाएका छैनौं । विभिन्न निकाय गुहार्दा समेत हामीले बीमा बापतको दाबी भुक्तानी रकम पाउन सकेनौँ ।’ 

उनका अनुसार गत वर्षको वैशाख महिनामा आएको हावाहुरीका कारण एक सय पाँच जना कृषकहरूको केरा खेती नष्ट भएको थियो । केही किसानले पहुँचका आधारमा भुक्तानी पाए पनि अन्यले भने नपाएको उनले गुनासो गरे ।

बीमा कम्पनीले कतिपय कृषकहरूको क्षति भई ढलेको केराको बोट संख्या गणना नगरी हिँड्ने गरेको समेत कृषक खरेलको आरोप छ । उनले भने, ‘अनुगमनमा आउँदा दुई तीन सय केराको बोट ढलेको छ भने त्यसको गणना नगरी अनुमानको भरमा लेखेर जाने गरेका छन् । एक सय बोट क्षति भएको छ भने २० देखि २५ बोट टिपोट गरी हिँड्ने गरेका छन् ।’  
 

प्रतिक्रिया दिनुहोस