
काठमाडौं । शरीरलाई स्वस्थ्य राख्नका लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । सन्तुलित भोजनले शरीरको वृद्धि विकासमा मद्दत गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ ।
सन्तुलित भोजनमा सामान्यतया दाल भात, अन्न फलफूल, माछा मासु, हरिया सागसब्जी दूग्धजन्य पदार्थ र तेल आदि सबै खाद्यान्नहरु पर्छन् । सन्तुलित भोजनले एनिमिया, उच्चरक्तचाप, मधुमेह, ह्ृदयरोग, मोटोपना, क्यान्सर स्ट्रोक जस्ता रोगहरुबाट बच्न मद्दत गर्छ ।
शरिरका लागि आवश्यक पर्ने पौष्टिक आहार र खानपान नमिल्दा मोटोपनाका सँगै विभिन्न रोगहरुको समस्या हुने गर्छ । यसका साथै शरीरलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा नभएमा कुपोषणको पनि समस्या हुने गर्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार शरिरलाई स्वस्थ्य राख्नका लागि सन्तुलित आहारमा कार्बोहाइड्रड, प्रोटिन, फ्याट खनिज पदार्थ आदि सबैको मात्रा बराबरी हुनुपर्छ ।
उनी भन्छन्, ‘एउटै खानेकुरा धेरै मात्रामा खाएमा स्वास्थ्यका लागि राम्रो हुँदैन । मानिसले आफ्नो उमेर अनुसार दाल भात तरकारी, फलफुल, माछामासु लगायतका परिकारहरु मिलाएर खानुपर्छ ।’
उनले भने, ‘धेरै शक्ति भएको खानेकुरालाई पनि जंग फुडका रुपमा लिइन्छ । एक किसिममा खानेकुराहरु एकनासले खाइरहनुलाई जंग भनिन्छ । तसर्थ सामान्य रुपमा धेरै गुलियो, चिल्लो, अमिलो र पिरो लगायतका खानेकुराहरु धेरै मात्रामा खानुलाई जंग फुड मानिन्छ । यो सबै उपभोग गर्नेमा भरपर्छ । चिल्लो खानै नहुने भन्ने हुँदैन । मात्रा मिलाएर खाएमा त्यसले असर गर्दैन ।’
मानिसहरुका खानेकुराको बारेमा जनचेतनाको कमि भएका कारण पनि धेरैजसो, बिरामी पर्ने गरेको उनी बताउँछन् । प्रवक्ता महर्जन भन्छन्, ‘मानिसहरुमा खानेकुराको मात्रा कसरी मिलाएर खाने भन्ने बारे पनि जानकारी कम छ । खाद्य वस्तुहरु मिलाएर पकाउन पनि जानेका हुँदैनन् । हामीले खानपानमा केही सधार गर्नुपर्ने पनि छ । सधै खान मात्र होइन कहिलेकाँही ढिँँडो रोटी पनि खानुपर्छ ।’
‘यसका लागि उत्पादन ठाउँबाट नै स्वच्छ भएर आउनुपर्छ । हामीले पकाउने खानेकुराहरुको लागि पनि मापदण्ड ल्याएका छौ । फ्राइ गर्ने तेलको लागि पनि मापदण्ड निकालेका छौ । एउटै तेलमा धेरै परिकारका खानेहुरा बनाइरहँदा पनि त्यसले असर गर्छ’, उनले भने ।
अहिले बजारमा धेरैजसो विषादीका कारण अर्गानिक खानेकुराहरु नष्ट भएर गएका छन् । जसले गर्दा सामान्यतया सन्तुलित आहार पनि नपुगिरहेका पाइन्छ । यसको लागि किसानहरुबाट नै नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘खानेकुराहरुमा विषादी किसान छरेपछि मात्र आउने हो । तसर्थ अहिले विषादी नियन्त्रणका लगि असल कृषि अभ्यास गरिनुपर्छ भनेर केही कार्यविधि पनि ल्याएका छौ । विषादी पनि तोकिएको मात्रामा मात्र छरेमा त्यसले असर गर्दैन । तर किसानलाई विषादीको जानकारी नभए धेरै मात्रामा छर्ने गरेमा त्यस्ता खानेकुराले भने हामीलाई असर गर्छ ।’
‘तोकिएको मापदण्डभन्दा अघि खानेकुराहरु बजारमा पठाउनु हुँदैन भन्ने हो । जीवनाशक औषधिको पनि मात्रा तोकिएको हुन्छ । धेरै मात्रामा प्रयोग भएमा मात्र हामीलाई असर गर्ने हो नत्र खासै फरक पर्दैन । तसर्थ किसानहरुले पनि तोकिएको मात्रामा र तोकिएको दिनमा मात्रा जीवनाशक औषधिको प्रयोग गरेमा असर गर्दैन’, उनले थपे ।
प्रतिक्रिया दिनुहोस