aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सप्लिमेन्ट्री फुड नेपालमा नै उत्पादन हुन थाले

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शनिबार, २४ बैशाख २०७९
सप्लिमेन्ट्री फुड नेपालमा नै उत्पादन हुन थाले

काठमाडौं । सप्लिमेन्ट्री फुड (पुरक खाद्य) लाई पोषक तत्वहरू प्रदान गर्ने खाद्य पदार्थका रुपमा पनि लिइन्छ । स्वस्थ्य शरीरका लागि दाल,भात तरकारी लगायत सन्तुलित आहारको आवश्यकता पर्ने गर्छ । खानेकुराको समय तालिका नमिल्दा मानिसहरुमा धेरै किसिममा रोगहरु पनि देखापर्ने गर्छन् । 

पूरक खाद्य पदार्थहरूलाई विशेष रूपमा तयार खानेकुराहरू, मिल्ड वा पाउडरका रुपमा तयारी पारिएका जुन ऊर्जा घनत्व, प्रोटिन, फ्याट र÷वा परिमार्जन गरिएका हुन्छ । पोषण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न माइक्रोन्यूट्रिएन्ट संरचना कुपोषित शिशु र बालबालिकाका लागि अति उपयुक्त हुने अनुमान गरिएको छ । 

पछिल्लो समयमा मानिसहरु कामको व्यस्तताका कारण खाना खाने समयमा पनि निकाल्न सकिरहेका हुँदैनन् भने सन्तुलित आहार पनि समया खान सकिरहेका छैनन् । जसले गर्दा ग्याष्ट्रिक, कमजोरी, पखाला हातखुट्टा झमझमाउने जस्ता विभिन्न रोगको सिकार हुन थालेका छन ।  

यस्ता समस्याहरुको निराकरणका लागि वैज्ञानिकहरुले खानाबाट पाइने पोषण तत्वको रुपमा सप्लिमेन्ट्री फुडको निर्माण गरे । सप्लिमेन्ट्री फुड बिरामीलाई निको पार्ने औषधि नभइ बिरामी हुनु अघि हुने कमजोरीलाई पुरा गर्ने खाद्य तत्व हो । यो औषधि जस्तै क्याब्सुलमा राखेर बनाइएको हुन्छ । 

नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि प्रयोग हुने खाद्यपदार्थको रुपमा उल्लेख गरिएको छ ।

सप्लिमेन्ट्री फुड (आहार पुरक खाद्य) भन्नाले कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन, एमिनो एसिड वाइन्जाइम, अन्यपोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य वा मानिसको शरिरमा क्रियात्मक भूमिकामा हुने फाइदाजनक पदार्थ सम्मिलित गरी स्वरुप परिवर्तन गरिएका पाउडर, ग्रेनुल, ट्याब्लेट, झोल, जेली, फ्लेक्स, बार जस्ता मुखबाट मात्र सेवन गरिने पदार्थहरु जनाउँछ ।
 
यस्ता आहार पुरक खाद्यपदार्थहरु जापान, अमेरिका, अष्ट्रेलीया, बेलायत, जर्मन, कोरिया, हङगेरी, थाइल्याण्ड, कतार, भेतनाम, बङगलादेश, चीन, स्पेन, भारत, मलेसिया, ताइवान लगायतका देशबाट आयात हुने गरेको छ । सप्लिमेन्ट्री फुड प्रयोजनका लागि डाक्टरको सल्लाह चाहिदैन । यो जोसुकैले आफ्नो इच्छा अनुसार आवश्यक परे किनेर सहजै खान सक्छन् । 

केही वर्षअघि सप्लिमेन्ट्री फुड विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद समेत चर्किएको थियो । सप्लिमेन्ट्री फुडको बिक्री वितरणबारे यी दुई विभागबीच विवाद उत्पन्न भएको थियो । उक्त विवाद अहिले भने सुल्झिसकेको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् । 

उनी भन्छन्, ‘केही वर्षअघि सप्लिमेन्ट्री फुडका विषयमा औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा तथा गुण नियन्त्रण विभागबीच बिक्री वितरणबारे समन्वय नभएका कारण समस्या आउने गरेको थियो । तर अहिले उक्त समस्या समाधान भइसकेको छ ।’ 

‘सप्लिमेन्ट्री फुडको विवाद सुल्झाउन कार्यविधि नै जारी गर्नुपर्यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि जारी गर्यो । मन्त्रालयबाट आयात र खाद्य पदार्थको नियमन सम्बन्धी कार्यविधि निकालेपछि खाद्य विभागले यसलाई हेर्न थालेको हो’, उनले भने । 

अहिले यसबारे दुई विभागबीच कुनै समस्या नरहेको बताउँदै प्रवक्ता महर्जन भन्छन्, ‘सप्लिमेन्ट्री फुडका बिषयमा हामीले पनि हेर्दैन थियौ र औषधि विभागले पनि नहेरेका कारण समस्या आएको थियो । उनीहरुले पनि यो औषधि होइन भनेर हामीकहाँ पठाउने गरेका थिए । हामीले पनि हाम्रो खाद्यका लागि होइन भन्ने गरेको कारण समस्या भएको थियो । अहिले समस्या छैन ।’ 

यसका साथै नेपालमा पनि केहीमात्रामा सप्लिमेन्ट्री फुडको उत्पादन हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘सप्लिमेन्ट्री फुड उत्पादनका लागि हामी कहाँबाट लाइसेन्स लिनुपर्ने हुन्छ । उत्पादन गर्नेहरु थोरैमात्रामा छन् ।’

सप्लिमेन्ट्री फुडलाई मानिहरुले औषधिको रुपमा पनि हेर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मानिसहरुले सप्लिमेन्ट्री फुडलाई औषधिमा रुपमा पनि लिएको पाइएको छ । तर सप्लिमेन्ट्री फुड र औषधि फरक कुरा हो । औषधि भनेको रोग लागेपछि बिरामीलाई डाक्टरले दिने कुरा हो । सप्लिमेन्ट्री फुड भनेको रोग लाग्नुअघि नै खाने भिटामिन हो । भिटामिनको कमि भएर रोग लाग्ला भनेर खाने कुरा हो ।’

‘झोल र पाउडरमा आउने भएका कारणले मानिसले औषधि हो भन्ने बुझेका हुन् । औषधिको रुपमा प्रयोग हुने सप्लिमेन्ट्री फुड औषधि विभागमा नै जान्छ । बट्टामा नै लेखिएको हुन्छ औषधिको रुपमा प्रयोग नगरौै भनेर त्यो सप्लिमेन्ट्री फुड खाद्यमा आउने गर्छ’, उनले थपे । उनका अनुसार धेरै जसो सप्लिमेन्ट्री फुड बाहिरबाट नै आयात हुने गर्छ । तर नेपालमा पनि केही मात्रामा सप्लिमेन्ट्री फुडको उत्पादन गर्ने उद्योगहरु पनि रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस