
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट १ अर्ब १५ करोड ५१ लाख ८५ हजार ६९३ रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जसका लागि सरकारले ८६ करोड १६ लाख ३२ हजार ९३२ रुपैयाँ अनुदान दिएको छ ।
समितिका अनुसार कृषि तथा पशुपन्छी बीमाबाट १ लाख ८९९ बीमा लेखजारी भएको छ । । यस अवधिमा २६ अर्ब २२ करोड ७ लाख ८५ हजार ६०१ रुपैयाँ बीमाङक रकम संकलन भएको छ । ९ हजार ३६९ किसानले दावी भुक्तानी गरेका थिए । कृषि बीमा वापत किसानले २४ करोड ५४ लाख ३५ हजार ४५१ रुपैयाँ खावी भुक्तानी पाएका छन् ।
समितिका अनुसार कृषि बीमाबाट निर्जीवन बीमा कम्पनीहरुले ८ करोड ४४ लाख ७९ हजार २६२ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसका लागि सरकारले ६ करोड १९ लाख ५४ हजार ८८८ रुपैयाँ अनुदान दिएको छ । यस अवधिमा ६७ वटा दावी भुक्तानी परेकोमा ९० लाख ४३ हजार ११ रुपैयाँ दावी भुक्तानी भएको छ । कृषि बीमाबाट २ हजार ४९६ बीमा लेख जारी भएको छ भने कुल बीमाङक रकम १ अर्ब ५४ करोड ४५ लाख १६ हजार ७९७ रुपैयाँ रहेको छ ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुले पशुपन्छी बीमाबाट १ अर्ब ८ करोड ८६ लाख ६२ हजार ७८० रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसका लागि सरकारले ७९ करोड ९६ लाख ७८ हजार ४४ रुपैयाँ अनुदान दिएको थियो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा ९८ हजार ४०३ पशुपन्छी बीमा लेख जारी हुँदा २५ अर्ब ६३ करोड ६६ लाख ७१ हजार ३०४ रुपैयाँ कुल बीमाङक रकम संकलन भएको छ । यसैगरी ९ हजार ३०२ वटा दावी भुक्तानी परेकोमा २३ करोड ६३ लाख ९२ हजार ४३९ रुपैयाँ बीमा दावी भुक्तानी भएको तथ्याङकमा उल्लेख छ ।
बीमा कम्पनीहरुका कारण नै कृषि बीमा गर्न अझै पनि किसानहरु हिच्किचाउने गरेका छन् । किसानहरुलाई बीमा बारे जनचेतनाको कमिसँगै समयमा भुक्तानी नपाउने समस्याले गर्दा सोचेजति कृषि बीमा मौलाउन नसकेको बीमा समिति स्वीकार्छ ।
बीमा समितिको कृषि तथा माइक्रो इन्स्योरेन्स शाखाकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठ पनि कृषि बीमामा दावी भुक्तानी नपाइने समस्या धेरै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘कृषि बीमामा अझैपनि जनचेतनाको कमि छ । बढी बीमाङक राखेर बीमा गर्ने समस्या पनि रहेको छ । जसले गर्दा समयमा दावी भुक्तानी नपाइने समस्या रहेको छ ।’
उनका अनुसार पशुपन्छी मरेको दुई दिन भित्र बीमा कम्पनीका जानकारी दिनुपर्छ भने सात दिन भित्र कागजपत्र पेश गर्नुपर्ने हुन्छ । तर किसानहरुलाई यसबारे थाहा नभएका कारण एक महिनापछि कम्पनीमा दावी भुक्तानी गर्दा कम्पनीहरुले दावी नलिएको अवस्था रहेको छ ।
समयमा दावी भुक्तानी नहुनुमा प्राविधिकहरुको भुमिका हुने गरेको उनको भनाई छ । उनी भन्छिन्, ‘हामीले माघ १ गतेदेखि क्षति मुल्याङकन कर्ताको पनि व्यवस्थापन गरेका छौ । उनीहरुको रिपोर्ट समयमा नपुगेको कारण पनि दावी भुक्तानीमा ढिला भएको हो । तर कतिपय केशमा भने कम्पनीहरुलाई शंकास्पद लागेको दावीमा पनि भुक्तानी गर्न आनाकानी गरेको पाइएको छ ।’
यसका साथै सरकारबाट पनि अनुदान रकम समयमा नआएका कारण दावी भुक्तानीमा बीमा समितिले सहजीकरण गर्न नसकेको उनले बताइन् । उनी भन्छिन्, ‘कृषि बीममा आएका समस्याहरुमा कतिपय केशहरु हामी फोनबाट पनि मिलाइदिन्छौ । कतिपय किसानहरु यही पनि आउँनुहुन्छ । बीमा कम्पनी र किसानहरुलाई अगाडी राखे उहाँहरुको समस्या मिलाइदिन्छौ । बीमा ऐन केही उजुरीहरु पनि पर्ने गर्छन् । उजुरी परेका बीमाहरुको उजुरी बारेमा उजुरी शाखाले नै हेर्ने गर्छ । तर, त्यति धेरै गुनासो गर्ने उजुरी कृषिमा आएको छैन ।’
‘कृषि मन्त्रालय र कृषि विभागसँग समन्वय हुने हुँदा धेरैजसुो समस्याहरु फोनबाट पनि मिलाउने गर्छौ’, उनले थपिन् । उनका अनुसार कृषि बीमामा २७ वटा पोलिसीहरु रहेका छन् । जसमा ६ वटा पशुपन्छीका रहेका छन् भने २१ वटा पोलिसीहरु कृषि बीमाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस