aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दश महिनामा पर्यटन क्षेत्रमा मात्रै १० अर्ब विदेशी लगानी स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
दश महिनामा पर्यटन क्षेत्रमा मात्रै १० अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा १६३ उद्योगका लागि करिब ३४ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार  चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाखसम्म विदेशी लगानीका १६३ वटा उद्योग दर्ताका लागि ३४ अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको हो । 

विभागका अनुसार यस अवधिमा विभिन्न क्षेत्रका साना, मझौला र ठूला गरी उद्योग दर्ताका लागि उक्त बराबरको रकम स्वीकृत भएको छ । लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ४ वटा मझौला उद्योग ४० वटा र साना उद्योगहरु ११९ वटा रहेका छन् । यस अवधिमा लगानी स्वीकृत भएका उक्त उद्योगहरुमा ९ हजार ७४८ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ । 

पर्यटन क्षेत्रका लागि मात्र १० अर्ब 

चालु आवको दश महिनामा पर्यटन क्षेत्रका लागि मात्र १० अर्ब भन्दा विदेशी लगानी स्वीकृत भएको छ । यस अवधिमा पर्यटन क्षेत्रका लागि १० अर्ब ५८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको हो । 

त्यस्तै, भदौमा चीन अमेरिका, नेदरल्याण्ड, भारत र बेलायत लगायतका देशहरुबाट होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि २ अर्ब ७० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । असोजमा पर्यटन क्षेत्रका लागि ३ अर्ब ७६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । यस अवधिमा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि अमेरिका, चिन, फ्रान्स, सिंगापुर, इटाली, स्वीजरल्याण्ड लगायतका देशहरुबाट सो बराबरको लगानी स्वीकृत भएको हो । 

विभागका अनुसार कात्तिक महिनामा पर्यटन क्षेत्रका लागि १५ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । जुन लगानी अमेरिका र चीनबाट होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि स्वीकृत भएको हो । त्यस्तै, मंसिर महिनामा चिनबाट होटल तथा रेष्टुरेन्टका लागि १० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको हो ।
 
यसैगरी, पुस महिनामा पर्यटन क्षेत्रका लागि ३५ करोड १५ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । जुन लगानी चीन र अष्ट्रेलियाबाट आएको हो । माघ महिनामा पर्यटन क्षेत्रका लागि चीनबाट ५ करोड १० लाख रुपैयाँ विदेशी लगानी आएको छ ।

विभागका अनुसार फागुन महिनामा पर्यटन क्षेत्रका लागि २५ करोड १५ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । यस महिनामा बेलायत र चीनबाट होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आएको हो । त्यस्तै, बैशाखमा मेक्सिको, चीन, अमेरिका, बेलायत र इटाली लगायतका देशबाट ३१ करोड २५ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । 

सुरुवातदेखि हालसम्म विदेशी लगानीका ५ हजार ४०१ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला उद्योग ३२१ वटा, मझौला उद्योग ५६९ वटा र साना उद्योग ४ हजार ५११ वटा रहेका छन् । विभागका अनुसार दर्ता भएका उक्त उद्योगका लागि ३ खर्ब ९८ अर्ब ४९ रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । प्रस्तावित गरिएका उद्योगहरुबाट हालसम्म २ लाख ८४ हजार ९४३ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस