
काठमाडौं । चुक्ता पुँजी नपुगेका बीमा कम्पनीले धमाधम हकप्रद शेयर जारी गरेर पुँजी पुर्याउन थालेका छन् । चुक्त पुँजी नपुगेका नौ इन्स्योरेन्स कम्पनीमध्ये तीनले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याउने तयारी गरेका छन् ।
चुक्ता पुँजी नपुगेका जीवन बीमा कम्पनीमा सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गरेर चुक्ता पुँजी २ अर्ब पुयाँउँदै छन् । सूर्या लाइफले ७० प्रतिशत हकप्रद शेयर जारी गर्दै छ । उक्त हकप्रद शेयर जारी गरेपछि सूर्या लाइफको चुक्ता पुँजी २ अर्बमाथि पुग्ने छ । अहिले उक्त इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ छ । सूर्या लाइफले ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद शेयर जारी गरेपछि चुक्ता पुँजी २ अर्बमाथि पुग्नेछ ।
यसैगरी चुक्ता पुँजी नपुगेको अर्को जीवन बीमा कम्पनी गुराँस लाइफले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै छ । उक्त इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्नका लागि एमएमबी क्यापिटलसँग सम्झौता गरेको छ । हकप्रद शेयर जारी गरेपछि गुराँस लाइफको चुक्ता पुँजी २ अर्बमाथि पुग्नेछ ।
यी दुई जीवन बीमा कम्पनीले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याएपछि जीवन बीमा कम्पनीको चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीमा प्राइम र राष्ट्रिय बीमा संस्थान मात्र हुने छन् ।
त्यस्तै चुक्ता पुँजी नपुगेका निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्योरेन्सले १ बराबर २.४ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्दैछ । हाल ३० करोड २४ लाख चुक्ता पुँजी भएको उक्त बीमा कम्पनीले ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्बमाथि पुग्ने छ । अन्य निर्जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजी नपुगेका बीमा कम्पनीमा एनएलजी, प्रुडेन्सियल, लुम्बिनी र राष्ट्रिय बीमा कम्पनी मात्र हुनेछन् ।
अझै पनि दुई जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिले असारभित्र चुक्ता पुँजी पुरयाउन निर्देशन दिएको थियो । बीमा समितिले चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीलाई चुक्ता पुँजी नपुर्याउनुको कारणसहितको स्पष्टिकरण सोधेको थियो । बीमा समितिको उक्त स्पष्टिकरणको जवाफमा कम्पनीले दिएका छन् ।
गत असार मसान्तभित्र जीवन बीमा कम्पनीले चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब पुर्याउनुपर्ने बाध्यता नियामक निकाय बीमा समिति गरेको थियो । त्यो अवधिमा चुक्ता पुँजी नपुर्याएका कारबाही गर्ने बीमा समितिले बताउँदै आएको छ । बीमा समितिले दिएको उक्त कारबाहीको धम्कीपछि बीमा कम्पनीले चुक्ता पुँजी बोनस र हकप्रदबाट पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
चुक्ता पुँजी नपुर्याएका बीमा कम्पनीले वोनस शेयरबाट चुक्ता पुर्याउने कोशिस गरेका छन् । तर, बोनस शेयरबाट पनि चुक्ता पुँजी नपुग्ने बीमा कम्पनीले हकप्रद शेयर वितरण गरेरै चुक्ता पुँजी वृद्धि गर्न बाध्य भएका हुन् । चुक्ता पुँजी नपुगेसम्म नगद लाभांश बाड्न नपाउने व्यवस्था यसअघि नै बीमा समितिले गरेको छ ।
बीमा समितिले बीमा कम्पनीहरुलाई गत आर्थिक वर्षदेखि नयाँ तरिकाको नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो । त्यसरी वित्तीय विवरण तयार गर्दा अधिकांश बीमा कम्पनीको नाफामा कमी आएका कारण बोनस शेयर वितरण गर्न सक्ने अवस्थामा छैनन् । प्रभु इन्स्योरेन्स कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभामा उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले एनएफआरएसका कारण यस वर्ष लाभांश वितरण गर्न सकेनौ अर्को वर्ष लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नयाँ एनएफआरएस विगतको लेखा अभ्यास अलि फरक छ । त्यसैले नयाँ लेखाप्रणालीमा केही कुरा बाझिएका छन् । पहिला वैशाखमा बीमा गरेर एक वर्षको प्रिमियम लिइन्थ्यो भने त्यो सबै प्रिमियम सोही आर्थिक वर्षको मानिन्थ्यो । तर, एनएफआरएस अनुसार, त्यसरी लिएको प्रिमियम अर्को वर्षको मानिन्छ ।
त्यस्तै एनएफआरएसले नाफाको ५० प्रतिशत रिर्जभमा राख्नुपर्दैन भन्छ । तर बीमा सम्बन्धी कानुनले नाफाको ५० प्रतिशत रिर्जभमा राख्नु भन्छ । त्यस्तै, बीमा समितिले भूकम्पपछि नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यी सबै नियमको पालना गर्ने हो भने सबै कम्पनी घाटामा जााने बीमा व्यवसायीको भनाइ छ । यसमा केही सुधार गर्नुपर्छ भन्ने बीमा कम्पनीहरुको माग छ ।
५० प्रतिशत रिजर्भ राख्ने व्यवस्था त बीमा ऐनले नै गरेकाले त्यो संशोधन नभई बीमा समितिले पनि केही गर्न नसक्ने बीमा व्यवसायीहरु बताउँछन् । कम्तिमा महाविपत्ती कोषमा १० प्रतिशत रकम राख्नु नपर्ने व्यवस्था गरिदिए पनि बीमा कम्पनीलाई केही सजिलो हुने उनीहरुको भनाइ छ । यो समस्या गत आर्थिक वर्षमा मात्र देखिने हो । चालू आर्थिक वर्षदेखि सबै मिल्ने व्यवसायीको तर्क छ । ५० प्रतिशत रिजभर्मा राख्दै एनएफआरएस अनुसार आर्थिक प्रतिवेदन बनाउने हो भने कम्पनीहरुको नाफा कम देखिन्छ ।
पुरानो व्यवस्था अनुसार २० प्रतिशत बोनस दिने अवस्थामा रहेका कम्पनीहरुको समेत व्यालेन्सिट नेगेटिभ देखिने व्यवसायीको भनाइ छ । अहिले नै शेयर बजार ओरालो लाग्नुको कारण पनि यही हो । त्यसमाथि वित्तीय विवरण नेगेटिभतिर आयो भने शेयर बजार झन् घट्छ । यसतर्फ, पनि सोच्न बीमक संघले बीमा समितिलाई आग्रह गरेका छ । यति हुँदा हुँदै पनि अबको एक महिनाभित्र सबै बीमा कम्पनीको साधारणसभा हुने सम्भावना बढेको व्यवसायीको भनाइ छ ।
यस्तो अवस्थामा बीमा कम्पनीले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याउनु विकल्प छैन । बोनस, हकप्रद वा मर्जरमा गएर भए पनि चुक्ता पुँजी पुर्याउन बीमा समितिले दबाब दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस