
काठमाडौं । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने जेठ ४ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार जेठ ३ गते विहान साझ साढे ५ बजेसम्म १५ लाख १७ हजार २८ जना आवेदकहरुबाट १ करोड ७५ लाख ९२ हजार ९२० कित्ता शेयर खरीदको माग भएको हो । जुन मागभन्दा ६ दशमलव ९३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको छ ।
खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपूर्व पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।
प्रतिक्रिया दिनुहोस