
काठमाडौं । नेपाल इन्स्योरेन्सले जेठ ३० गते ७३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ ।
सो पूँजीको आधारमा रू. १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र रू. ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार कायम हुनेछ । आगामी एक वर्षभित्र कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यता छ । नियामक निकाय बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई उक्त रकम बराबरको चुक्तापूँजी कायम गर्नुपर्ने भएको हो ।
यस वर्ष कम्पनीले विगत ६ वर्षपछिकै उच्च लाभांश प्रस्ताव गरेको हो । लाभांश वितरणको अवस्थालाई हेर्दा अधिकतम २१ दशमलव ०५ प्रतिशत लाभांश कम्पनीले आर्थिक वर्ष ०६८÷६९ को मुनाफाबाट वितरण गरेको थियो । त्यसपछिका वर्षहरुको तुलनामा यस वर्ष कम्पनीले उच्च लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश सहित कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्ताव सहित सभाले संस्थापक शेयरधनीहरुबाट दुई जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना गरी चार सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस