
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा अनुदानको रकम दुरुपयोग भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा रहेको गौरी शंकर कृषक समूहले अनुदानको रकम दुरुपयोग गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालय अन्तर्गत रहेको कृषि ज्ञान केन्द्र रुपन्देहीले अनुदान दिएको धानको बिउ वितरणमा अनियमितता भएको हो । कृषि ज्ञान केन्द्रको १२ लाख ५४ हजार अनुदान कार्यक्रममा गौरी शंकर कृषक समूहले नेपाल सरकारले प्रतिबन्ध लगाएको धानको बिउ वितरण गरेको छ । पञ्जिकृत उन्नत जातको धानको बिउ खरिद गर्ने भनी कृषि ज्ञान केन्द्रमा सम्झौता भए पनि अवैध मानिएको गोरखनाथ ५०९ जातको धान वितरण गरेको छ । धानको विउ नक्कली हुँदा कृषकहरु समस्यामा परेका खबर सुनि रहेको बेला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिल कानु बानियाँको आतिथ्यतामा प्रतिबन्धित धानको विउ वितरण भएको हो ।
गौरी शंकर कृषक समूहका अध्यक्ष माधब पन्थीले संस्थामा २०९ जना सदस्य रहेको र कृषि सामग्रीहरु वितरण गर्ने बताउँदै प्रतिबन्धित धानको बिउ अन्यत्र बिक्रि गर्नको लागि ल्याइएको हास्यास्पद जवाफ दिन्छन् । वितरणलाई ल्याइएको धानको बिउ माग गर्ने किसानलाई विक्रिको लागि ल्याइएको अध्यक्ष पन्थी बताउँछन् । गोरखनाथ ५०९ जातको धान नेपाल सरकारले उत्पादनम ह्रास आएको र किसानहरु ठगिएकोले प्रतिबन्ध लगाएको छ ।
संस्थाका सचिव धनराज शर्माले सुनवल कृषि सेवा सामग्री सेन्टर सुनवल नवलपरासीबाट खरिद गरेको बताउँछन् । शर्माले खरिद गरेको भनेको पसलको खाली बिल देखाउँदै संस्थाले नै आफै भरेर अनुदानको रकम निकाल्न बिल पेस गर्ने बताउँछन् । सरकारले पकेट क्षेत्रको लागि अनुदान दिएको रकम संस्थाका नेतृत्व कर्ताले दुरुपयोग गर्ने गरेका छन् । ‘कुन जातको बिउ कस्तो माटोमा सुहाउँछ र फैलाउँछ भन्ने सर्वसाधारण मानिसलाई थाहा हुँदैन । त्यसैको फाइदा उठाइरहेका छन्’, रुपन्देहीमा कृषक समूह नाइकेहरुले । सुनवल नवलपरासीका निम प्रसाद चापागाईंले सञ्चालन गरेको सुनवल कृषि सेवा सामग्री सेन्टर सबै सामान खरिद गरेको सचिव शर्मा बताउँछन् ।
धानको पकेट क्षेत्र निर्धारण गरेर सियारी १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान आउने गरेको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्दिप धितालले गोरखनाथ ५०९ धानको बिउ प्रतिबन्धित रहेको स्विकार गर्छन् । उनले उन्नत जातको धानको विउ वितरण गर्ने भन्ने सम्झौता भएको बताउँदै कुन कुन धानको विउ वितरण भयो भन्ने आफूलाई जानकारी नभएको बताउँछन् । उनले धानको विउ वितरण गर्ने सूचना अधिकृत अनिल कानु बानियाको बचाउँ गर्दै कार्यालयका कर्मचारीलाई थाहा नभएको बताउँछन् ।
अनुदान रकम जिल्लामा पठाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई लुम्बिनी प्रदेशका प्रमुख नारायण काफ्ले ले धानको विउमा अनियमितता भएको विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरि दोषिलाई कारवाही गर्ने बताउँछन् ।
कृषि ज्ञान केन्द्र रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ मा रहेका श्री जय जनता कृषक समुहलाई १२ लाख ५३ हजार ९ सय १३ रुपैँया, कोटही माई गाउँपालिका ७ मा रहेको अमर तरकारी खेति कृषक समूहलाई १२ लाख ५३ हजार २ सय ३८ रुपैया, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा रहेको श्री शारदा कृषक सहकारी संस्था लिमिटेडलाई ११ लाख ७३ हजार ७ सय ५० रुपैंया, सियारी गाउँपालिका वडा नम्बर १ मा रहेको गौरी शंकर कृषक समूहलाई १२ लाख ५४ हजार रुपैँया अनुदान स्वरुप दिएको छ । गौरी शंकर कृषक समूहले गत वर्ष २३ लाख ३८ हजार अनुदान पाएको थियो ।
प्रतिक्रिया दिनुहोस