aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नाडाको कार्यसमिति बैठक रारामा, हाम्रो बैठकले पर्यटन क्षेत्रमा राम्रो सन्देश दियोः अध्यक्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
नाडाको कार्यसमिति बैठक रारामा, हाम्रो बैठकले पर्यटन क्षेत्रमा राम्रो सन्देश दियोः अध्यक्ष

मुगु । नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एशोसिएशनले शुक्रबार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।   

कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले नाडाको बैठकले पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताए । उनले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर पर्यटन क्षेत्रको विस्तारमा राम्रो सन्देश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’  

अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताए । उनले देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नु पर्ने बताए ।   

बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखे । 

अन्र्तक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफुहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम संचालन गरेका थिए । 

यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बीनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।

नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस