aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारी स्वास्थ्य बीमाबाट १ अर्ब बढी दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
सरकारी स्वास्थ्य बीमाबाट १ अर्ब बढी दावी भुक्तानी

काठमाडौं । देशभर स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख नाघेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख ६४ हजार ५२९ पुगेको हो । 

बोर्डले गत बैशाख महिनामा सरकारी स्वास्थ्य बीमा वापतको १ अर्ब बढी दावी भुक्तानी गरेको छ । सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब १८ करोड २ लाख रुपैयाँ दावी भुक्तानी गरिएको हो ।
 
बोर्डको तथ्यांक अनुसार बीमा वापत सबैभन्दा बढि दावी भुक्तानी प्रदेश नम्बर १ मा गरिएको छ । बोर्डले यस प्रदेशमा ५७ करोड २ लाख ६१ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो । हालसम्म १७ लाख ९३ हजार ११० जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमा  १८ लाख ११ हजार ५५० परिवार आवद्ध रहेका छन् ।

त्यस्तै, मधेश प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ६१ वटा अस्पतालमा १ करोड ८१ लाख ७१ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरिएको छ । मधेश प्रदेशमा ३ लाख ५२ हजार ९४७ जनाले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म उक्त प्रदेशका १ लाख ५३ हजार ८६७ परिवार स्वास्थ्य बीमामा आवद्ध रहेका छन् । 

यसैगरी, बागमती प्रदेशका ८२ वटा अस्पतालमा २९ करोड ६५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा ११ लाख १० हजार ८०६ जनाले स्वास्थय बीमा गरेका छन् भने ३ लाख ३१ हजार ८२ परिवार बीमामा आवद्ध रहेका छन् । 

बोर्डका अनुसार हालसम्म गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ५३ वटा अस्पतालमा १२ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको तथ्यांकमा उल्लेख छ । गण्डकी प्रदेशमा ६ लाख ८० हजार ७४८ जनाले स्वास्थ्य बीमा गरेका छन् । बीमामा आवद्ध रहेका परिवारको संख्या २ लाख ४८ हजार ६६० रहेको छ । 
  
त्यस्तै, यस अवधिमा बीमाको पहुँच पुगेका लुम्बिनी प्रदेशका ६३ वटा अस्पतालमा १२ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । लुम्बिनी प्रदेशमा ८ लाख ५८ हजार ६१५ जनाले स्वास्थ्य बीमा गरेका छन् भने २ लाख ८३ हजार ८५३ परिवार बीमामा आवद्ध रहेका छन् । 

यसैगरी, स्वास्थ्य बीमाको पहुँच पुगेका कर्णाली प्रदेशका ३२ अस्पतालमा १ करोड ९९ लाख ७९ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा ३ लाख १७  हजार ८०६ जनाले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म कर्णाली प्रदेशका ९० हजार ३५२ परिवार स्वास्थ्य बीमामा आवद्ध रहेको तथ्यांकमा उल्लेख छ । 

बोर्ड अनुसार सुदुरपश्चिम प्रदेशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा ३६ अस्पतालमा २ करोड १२ लाख २० हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । यस अवधिमा सुदूरपश्चिम प्रदेशमा ४ लाख ५० हजार ४६५ जनाले सवस्थ बीमा गरेका छन् । हालसम्म उक्त प्रदेशमा एक लाख ५५ हजार २७० परिवार स्वास्थ्य बीमामा आवद्ध रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस