aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिभर फल्स पावरको आईपीओ आज चार बजे बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
रिभर फल्स पावरको आईपीओ आज चार बजे बाँडफाँट हुदैं

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज अपरान्ह ४ बजे बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट हुन लागेको हो । आईपीओको प्रि–अलोटमेण्ट भने गत शुक्रवारनै भैसकेको जानकारी विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । आईपीओ खरीदका लागि १८ लाख ३८ हजार ४३१ जना आवेदकहरुबाट रू. २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको थियो । कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको शेयरको बाँडफाँट कार्याक्रम आजको लागि तय भएको हो । भाग्यमानी २ लाख ५३ हजार ८९० जना योग्य आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपूर्व पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो । 

हाल संस्थापक तर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७÷७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस