aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्थानीय वासीका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्दै अपर हेवाखोला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
स्थानीय वासीका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्दै अपर हेवाखोला

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गते मंगलवारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । स्थानीयमा कम्पनीले ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा जेठ २४ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि असार ८ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । केयर रेटिङ्ग नेपाले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ ।

 कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । यस आयोजनाको निर्माणका लागि कुल लागत  १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणसम्म पहिलो शेयर कारोबारका लागि मूल्य रेञ्ज तोक्ने व्यवस्था अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस