
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्नपीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ । कम्पनीको जेठ ६ गतेकै सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । पूँजी बृद्धि अभियान चलिरहेको अवस्थामा पूँजीबृद्धिका लागि कतिपय कम्पनीहरुले मर्जरको प्रकृया अघि बढाईसकेको अवस्थामा यस कम्पनीले पनि मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत गरेको छ ।
आगामी दिनमा सो प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ् । साधारण सभाको लागि हकप्रदको प्रस्ताव रहेपनि बुक क्लोजको मिति भने हकप्रदको हकमा लागू हुने छैन् । वार्षिक साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिएपछि मात्र हकप्रद शेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस