aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘बजारमा गहुँ खरिद गर्न खोज्दा गहुँ नै छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
‘बजारमा गहुँ खरिद गर्न खोज्दा गहुँ नै छैन’

काठमाडौं । खाद्य तथा व्यापार कम्पनीले बजारमा गहुँ खरिद गर्न खोज्दा गहुँ पाएको छैन । सरकारले गहुँ खरिद गर्न निर्देशन दिए पनि कम्पनीले बजारमा गहुँ नपाएको गुनासो गरेको हो । 

खाद्य कम्पनीले गहुँ खरिद गर्नका लागि बजारमा पर्याप्त गहुँ नपाएको खाद्य तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदी बताउँछिन् । उनी भन्छिन्, ‘सरकारको निर्देशन अनुसार नै गहुँ खरिदको प्रक्रिया सुरु गरेका छौ । एक लाख ५७ हजार क्विन्टल खाद्यान्न खरिदको व्यवस्था भइरहेको छ । तर धेरै मात्रामा भने गहुँ खरिद गर्न सकेका छैनौ । गहुँको अभाव छ ।’

उनका अनुसार हाल खाद्य कम्पनीसँग ४ सय क्विन्टल गहँ मौज्दात रहेको छ । त्यस्तै, ६२ हजार क्विन्टल धान र सुगम र दुर्गमका जिल्लाहरुमा ८० हजार क्विन्टल चामल मौज्दातमा रहेको छ । 

भारत सरकारले देशको बढ्दो खाद्य सुरक्षा र मंहगीलाई ध्यानमा राखेर गहुँ निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । रुस र युक्रेनको युद्धका कारण पनि गहुँको मूल्य बढेपछि भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको थियो । 

विश्वभरी बढ्दै गएको मुद्रास्फीतिका कारण धेरै देशहरुले अहिले विभिन्न कुरामा प्रतिबन्ध लगाएका छन् । युक्रेनमा रुसको आक्रमणपछि खाद्यान्नको मूल्य आकाशिएको छ र विश्वभरी  अत्यावश्यक वस्तुको मूल्य बढ्न नदिन यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् । 

मलेसियाले असार १ गतेदेखि कुखुराको निर्यात बन्द गर्ने भएको छ । इन्डोनेसियाले हालै पाम तेलमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । भारतले पनि गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । सर्बिया र काजाकिस्तानले अन्न ढुवानीमा कोटा लगाएका छन् । 

भारतले यसरी गहुँ निर्यातमा रोक लगाउँदा नेपाली किसान मर्कामा पर्ने देखिन्छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङक हेर्ने हो । भने भारतबाट ५ अर्ब ९७ करोड ७० लाख ८८ हजार रुपैयाँ बराबरको १८ करोड ९ लाख ३७ हजार ९५४ केजी गहुँ आयात भएको छ । 

यस अवधिमा भारतबाट ७ करोड ४१ लाख १० हजार रुपैयाँ बराबरको २१ लाख ३६ हजार ६९५ केजी गहुँको बीउ आयात भएको छ । खाद्यान्न लगायतका अन्य वस्तुहरुमा समेत भारतको निर्भरमा रहेका नेपाली किसानहरु भारत सरकारले यसरी गहुँ निर्यातमा रोक लगाएपछि नेपाली किसानहरु मारमा पर्ने भएका हुन् । भारत सरकारले गहुँ निर्यातमा रोक लगाएपछि नेपाली किसानहरुले गहुँको बीउ समेत नपाउने अवस्था आउने देखिन्छ । जसले गर्दा किसानहरु मारमा पर्ने भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस