
काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले २ अर्ब ५२ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार चैत महिनाको तुलनामा वैशाखमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन घटेको हो । यी कम्पनीहरूले गत चैतमा ३ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चैतको तुलनामा वैशाखमा यी कम्पनीको कुल बीमाशुल्क आर्जन ७८ करोड ६६ लाख रुपैयाँ घटेको छ । चालू आवको वैशाख मसान्तसम्म यी कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ३१ अर्ब १९ करोड ७१ लाख पुगेको छ ।
वैशाखमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ४२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । यो कम्पनीले वैशाखमा २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
वैशाखसम्म सबैभन्दा बढी बीमाशुल्क आर्जन शिखर इन्स्योरेन्सले नै गरेको छ । वैशाखसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्ने दोस्रोमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । यो कम्पनीले वैशाखसम्म २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ ।
त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले वैशाखमा ३ करोड ७४ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस