aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक महिनामा सम्पत्ति बीमा शुल्क २४ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ जेठ २०७९
एक महिनामा सम्पत्ति बीमा शुल्क २४ प्रतिशतले घट्यो

काठमाडौं । एक महिनामा सम्पत्ति वापत गरिने बीमा शुल्क २४ प्रतिशतले घटेको छ । बीमा समितिको तथ्यांक अनुसार चैत महिनाको तुलनामा बैशाख महिनामा सम्पत्ति वापत गरिने बीमा शुल्क रकम २४.४५ प्रतिशतले घटेको हो । 

समितिका अनुसार बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ४९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

कुन प्रदेशबाट कति बीमा शुल्क आर्जन ? 
चालु आवको बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा यो बीमा शुल्क ४.४५ प्रतिशतले कम हो गत चैत महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ९ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

त्यस्तै, मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा उक्त प्रदेशबाट ६ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क रकम संकलन भएको थियो । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम २७.२८ प्रतिशतले कम हो । 

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट २६ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा २९ प्रतिशत अर्थात १० करोड ८५ लाख रुपैयाँले बीमा शुल्क घटेको छ । गत चैत महिनामा बीमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट ३६ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ । 

समितिका अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट २ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्र्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क ३३.४२ प्रतिशतले कम हो । गत चैत महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट ३ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ३६.२६ प्रतिशत अर्थात एक करोड ४ लाख रुपैयाँले कम हो । गत चैत कम्पनीहरुले महिनामा ७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

त्यसैगरी, कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा कम्पनीहरुले ६५ लाख रुपैयाँ बीमा शुल्क अर्जान गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ३६.२६ अर्थात २३ लाख रुपैयाँले कम हो । 

समितिका अनुसार सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा कम्पनीहरुले १ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ३०.७८ प्रतिशत अर्थात ६० लाख रुपैयाँले कम हो ।

सम्पत्ति बीमा निर्देशिमा के छ व्यवस्था 
बीमा समितिले २०७५ माघ १ गते देखि लागु हुनेगरी सम्पत्ती बीमालेख जारी गरेको थियो ।  सम्पत्ति बीमालेख अन्तर्गत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमा लेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्थापना सम्पत्ति बीमालेख पर्छन् ।

समितिले न्यून बीमा शुल्कमा आफ्नो सम्पत्तिको जोखिम बहन हुने सुविधा सहितको निर्देशिका जारी गरेपछि सम्पत्ती बीमा गर्ने सर्वसाधारणको आकर्षण समेत बढ्दै गइरहेको छ । समितिले १८ वर्षपछि अर्थात २०५८ सालको सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरी सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्मले घटाएपछि सम्पत्ति बीमा प्रति सर्वसाधारणको आकर्षण देखिएको हो । 

समितिले परिमार्जन गरेको निर्देशिका अनुसार १ करोड पर्ने घरको वार्षिक ४ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गरेपछि जोखिम बहन हुने व्यवस्था छ । सम्पत्ति बीमा निर्देशिका अनुसार घर बीमा बाहेक अन्य हुलदंगा र आतांकबादबाट हुने जोखिमलाई समावेश गरिएको छैन । 

समितिको उक्त व्यवस्थाले यसअघि प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिँदा कूल बीमा शुल्कको औसत ६५ प्रतिशतका दरले बीमादर घटाएको समितिले जनाएको छ । सम्पत्ति बीमालेखले अग्नीजन्य, हावाजन्य, भुमिजन्य, चट्याङजन्य, विस्फोटनजन्य, आतंकबादजन्य लगायतका कारणले हुने क्षतिको रक्षावरण गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस